कालापानीदेखि लिम्पियाधुरासम्म नेपालीलाई प्रवेश नदिन भारतको निर्देशनात्मक पत्र


१२ श्रावण २०७७, सोमबार १३:४२ मा प्रकाशित

काठमाडौं । भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भन्दै नेपाललाई निर्देशनात्मक पत्र पठाएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशनात्मक पत्र पठाएको हो ।

भारतको धार्चुला प्रशासनले नेपालस्थित दार्चुला जिल्ला प्रशासन कार्यालयलाई जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहने र मिडियामार्फत आफ्नो ध्यान तान्न उद्यत भएको भन्दै त्यस्ता समूहलाई प्रवेश नदिन नेपाललाई निर्देशनको शैलीमा पत्र लेखेको हो ।

‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा प्रतिनिधि सभाबाट जेठ ३१ गते पारित भएको थियो । तर, उक्त भूभाग भारतले आफ्नो दाबी गर्दै संरचना नै बनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here