१४ बर्षअघि कुटपिट गरी हत्या गरेको आरोपमा फरार रहेका व्यक्ति पक्राउ


१ श्रावण २०७७, बिहीबार १६:०२ मा प्रकाशित

भद्रपुर, (झापा) । १४ बर्षअघि कुटपिट गरी हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्तिलाई झापा प्रहरीले पक्राउ गरेको छ ।

हत्याको अभियोगमा प्रहरीमा उजुरी दिएका पिडित परिवारले समेत आश गुमाइसकेका घटनाको आरोपीलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।

कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेका मेचीनगर नगरपालिका– ५ बस्ने ४१ बर्षीय बौदल लामगाधे वि.क भन्ने पुण्यप्रसाद विश्वकर्मालाई बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ । घटना विवरण अनुसार २०६३ साल चैत २४ गते जिल्लाको साविक टाघनडुब्बा गाविस वडा नम्बर ९ हाल झापा गाउँपालिका वडा नम्बर ३ स्थित नन्दलाल विश्वकर्माको घरमा सोही ठाँउ बस्ने ३५ बर्षीय नत्थु विश्वकर्मालाई रक्शीको नशाले मातेका पुण्यप्रसादले कुटपिट गरी गम्भिर घाइते बनेका थिए ।

घाइते भएका नत्थुको उपचारको क्रममा घटना भएको भोली पल्टै विराटनगरस्थित विराट नसिङ होममा मृत्यु भएको थियो । टाघनडुब्बाको कामाटोली बजारबाट नत्थुको साइकल उनलाई नसोधी पुण्यप्रसादले लगेको र त्यही साइकल लिन जाँदा पुण्यप्रसादले उनकै ससुरालीमा नत्थुमाथि कुटपिट गरेको प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पुण्यप्रसादको कुटपिटबाट नत्थुको मृत्यु भएपछि मृतकका ससुरा रामबहादुर विकले प्रहरीमा कुटपटि गरी कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए । १४ बर्षदेखि फरार रहेका पुण्यप्रसादलाई प्रहरीले असार ३० गते पक्राउ गरिएको एसपी कोइरालाले जानकारी दिए । कोरोनाको त्रासपछि घर फर्किएका उनलाई प्रहरीले मेचीनगर ८ स्थित इट्टाभट्टा चौकबाट पक्राउ गरेको हो । प्रहरीमा उजुरी दिएका मृतकका ससुराको समेत मृत्यु भइसकेको र मृतकका श्रीमती चन्द्रीका र आफन्त पहिचान गरेपछि उनलाई पक्राउ गरिएको एसपी कोइरालाले बताए । १४ बर्षको अवधिमा आरोपी पुण्यप्रसाद दुवई, भारतसहित नेपालकै विभिन्न जिल्लामा लुकिछिपि नाम परिवर्तन गरी बस्दै आइरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here