हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको ट्रम्पको घोषणा


३१ असार २०७७, बुधबार ०७:४१ मा प्रकाशित

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङलाई दिइएको विशेष हैसियत अन्त्य गरिएको घोषणा गरेका छन् ।

हङकङलाई दिइएको विशेष हैसियत अन्त्यसम्बन्धी एउटा आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले उक्त घोषणा गरेका हुन् । चीनविरूद्ध लिएका कडा नीतिअन्तरगत ट्रम्पले पछिल्लो कदम चालेको बीबीसीले जनाएको छ । वासिङ्टनमा आयोजित एक पत्रकार सम्मेलनमा उनले हङकङको स्वतन्त्रतालाई मेटाउने सबै व्यक्ति र निकायलाई त्यसप्रति जिम्मेवार ठहर्‍याइने पनि बताए।

‘हङकङलाई अब मुख्यभूमि चीनझैँ व्यवहार गरिनेछ,’ ह्वाइटहाउसमा पत्रकारसमक्ष उनले भने, ‘अब कुनै विशेष सुविधा, विशेष आर्थिक व्यवहार र संवेदनशील प्रविधिको आपूर्ति हुनेछैन।’

ट्रम्पले हङकङमा मानव अधिकार हनन् गर्ने चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउन मिल्ने एउटा विधयेकमासमेत हस्ताक्षर गरेको जानकारी दिए ।

यसै महिनाको सुरूमा अमेरिकी संसद्‍बाट एकमतले पारित भएको उक्त विधेयक अब कानुन बनेपछि हङकङसँग व्यापार गर्दा दिइने विशेष सुविधालाई अन्त्य गरिनुका साथै बैंकहरूमाथि प्रतिबन्ध लगाउने अधिकार दिनेछ।

पछिल्ला साताहरूमा अमेरिकाले हङकङलाई दिइएको विशेष हैसियतबारे निर्णय रोकिराखेको थियो। हङकङ सन् १९९७ मा ब्रिटेनले चीनलाई फिर्ता दिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here