विराटनगर । प्रदेश १ सरकारले २ सय ७ औं भानु जयन्तीका अवसरमा १३ स्रष्टालाई सम्मानित गरेको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट एक जना र भाषासाहित्य कला सम्मानबाट १२ जना स्रष्टा सम्मानित भएका हुन् । एक लाख राशिको बालकृष्ण पोखरेल भाषा, साहित्य कला सम्मानबाट इलामका स्रष्टा डा. नवलकिशोर राई सम्मानित भएका छन् । उनले सम्मानबापत प्राप्त गरेको रकममध्ये ५० हजार आरोहण गुरुकुल र ५० हजार रुपैयाँ कोरोना उपचार कोषलाई हस्तान्तरण गरे ।
ललितकलातर्फ अनुराधा थापा (मोरङ), साहित्यतर्फ उमानाथ घिमिरे ‘सागर’(धनकुटा), कविराज पोखरेल (मोरङ) र मुनाराज शेर्मा (झापा) सम्मानित भएका छन् । यस्तै पञ्चकुमारी परियार (खोटाङ), प्रेम ओझा (पाँचथर), शिवनारायण पण्डित ‘सिंगल’ (सुनसरी), साहित्य र कलातर्फ डीबी किराँती (सोलु) सम्मानित भए ।
सम्मानित हुने अन्य स्रष्टामा रंगकलातर्फ कविता नेपाल (झापा), चलचित्रकर्मीतर्फ केशव रायमाझी (मोरङ), नृत्यकलातर्फ माया पौडेल (मोरङ), गीतसंगीततर्फ वीरध्वज शिवा (मोरङ) छन् ।
स्रष्टाहरुलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, स्रष्टा मूल्यांकन सिफारिस कार्यदलका संयोजक प्राज्ञ खेम नेपालीले सम्मानित गरेका थिए ।
उनीहरुलाई जनही ५०–५० हजार नगद, दोसल्ला र प्रमाणपत्र प्रदान गरिएको छ । सामाजिक विकास मन्त्रालयले भाषा, साहित्य र कला क्षेत्रमा विशिष्ट योगदान पु¥याउने स्रष्टाहरुलाई गत वर्षदेखि सम्मान सुरु गरेको हो ।





