फेरि स्थगित भयो नेकपा स्थायी कमिटी बैठक


२४ असार २०७७, बुधबार ०९:४८ मा प्रकाशित

काठमाडौं । नेकपा स्थायी कमिटी स्थगित भएको छ। बैठक असार २६ गते ११ बजे बस्ने गरि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आज विहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक २ दिन पछि सरेको हो। नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति कायम गर्नका लागि भन्दै बैठक स्थगित हुँदै आएको छ।

हिजो र अस्ति लगातार दुई अध्यक्षले एक्लाएक्लै छलफल गरेपछि स्थायी कमिटी बैठकलाई निरन्तरता दिने सहमति भएको जनाइएको थियो तर अन्तिममा आएर बैठक स्थगित गरिएको छ। असार १० गतेदेखि सुरु भएको बैठकमा बोल्ने अधिकांश सदस्यले प्रधानमन्त्री ओलीले सत्ता र पार्टी दुवैको नेतृत्व छाड्नुपर्ने माग गरेका थिए।

विवाद समाधानका लागि दुई अध्यक्ष एक्ला एक्लै छलफलमा छन्। आज पनि छलफल हुने र समय भने तय भइनसकेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। प्रधानमन्त्री ओलीले सरकार र पार्टीको नेतृत्वबाट राजीनामा दिनुपर्ने प्रचण्डको अडान छ भने ओलीले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here