कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुँइस्थित हुलाकी सडक निर्माण कार्यस्थलमा भारतीय पक्षले अवरोध गरेको छ। हातहतियार सहित आएको भारतीय सुरक्षाकर्मीको टोलीले सडक निर्माणस्थलमा जारी काम रोकेको हो। भारतले सुरक्षा दलबल लगाएर अवरोध गरेपछि सडक निर्माणकार्य आइतबारदेखि रोकिएको छ।
‘सीमा स्तम्भ नम्बर ३८ नजिक सडक कालोपत्रे गर्नका लागि बेस राख्ने कार्य ७५ प्रतिशत पुरा भएको छ,’ इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रण बहादुर चन्दले भने, ‘तर नेपालतर्फको एक हजार २०० मिटर क्षेत्र भारतमा पर्ने दावी गर्दै भारतीय पक्षले सडक निर्माणमा अवरोध गरेका छन्।’ भारतले ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस)का आधारमा नेपाली भूभाग भारततर्फ पर्ने भन्दै सडक निर्माण रोकेको, तर आफूहरूले भारतको दावीलाई मान्ने स्थिति नरहेको उनले जानकारी दिए।भारतीय सुरक्षाकर्मी करिब १५ वटा गाडीमा खचाखच कोचिएर आएका भारतीय सुरक्षाकर्मीको टोलीले नेपालमा भएको सडक निर्माण रोकेका हुन्।
नेपाली सुरक्षा निकायसँग कुनै समन्वय नै नगरी भारतीय सुरक्षाकर्मीहरू हातहतियारसहित नेपाल पसेका हुन्। उनीहरू सीधै नेपालले सडक निर्माण गरिरहेको स्थान पचुँइमा पुगेका थिए। गत वर्ष पनि भारतीय पक्षले सडकमा ग्राभेल राख्ने काम हुँदा यसरी नै दलबल र हतियारसहित आएर अवरोध गरेको थियो। सीमास्तम्भ भन्दा १० मिटर टाढा नेपाली भूमिमै सडक निर्माण भइरहेको छ। भारतीय यो रिफरेन्स पिल्लरलाई नै मुख्य सीमास्तम्भ भएको दावी गर्दै आएको छ। सीमा स्तम्भ रहेको क्षेत्र नजिकै भएर बग्ने चौधर नदीमा सीमा स्तम्भ राख्न सकिने अवस्था नभएपछि नदी भन्दा ३०० मिटर यता नेपालतर्फ रिफरेन्स सीमा स्तम्भ राखिएको स्थानीय हरि चन्दले बताए। मुख्य सीमास्तम्भ राख्न नसकेपछि नेपाली भूमिमा रिफरेन्स पिल्लर राखिएको उनले जानकारी दिए।
वर्षौं पहिलेदेखि नै हुलाकी सडक निर्माण भएको क्षेत्रलाई नेपालीले निर्वाध रुपमा प्रयोग गर्दै आएका थिए। तर गत वर्षदेखि भारतीय सुरक्षाकर्मीहरू यो क्षेत्रमा घुसेर अवरोध गर्दै आएको बेलौरीका नगरप्रमुख पोतिलाल चौधरीले बताए। यो वर्ष पनि उनीहरूले सडक निर्माण कार्य रोक्न भन्दै धम्क्याएर गएको उनले जानकारी दिए। यस क्षेत्रको जमिन निकै अघिदेखि नेपालीहरूले भोगचलन गर्दै आएका छन्।स्वयम् नेपाल-भारत संयुक्त सीमा सर्भे टोली र नापी टोलीले सडक निर्माण भैरहेको क्षेत्रलाई नेपाली भूभाग भनेका छन्।नेपाली भूभाग रहेको स्वीकार गरेपछि पनि भारतले सुरक्षाकर्मी घुसपैठ गराई यस क्षेत्रमा तनाव निम्त्याउने गरेको छ।





