बालबालिकालाई झाडापखालाविरुद्ध खोप दिइँदै


१२ असार २०७७, शुक्रबार ०७:३९ मा प्रकाशित

काठमाडौँ । सरकारले पहिलोपटक झाडापखाला रोक्नका लागि खोप दिने भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जन्मदेखि पाँच वर्षमुनिका बच्चालाई झाडापखालाविरद्ध खोप ‘रोटारिक्स’ दिने भएको हो ।

महाशाखाका बालस्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले झाडापखालाबाट वर्षेनि बालबालिकाको मृत्यु हुने गरेकाले त्यसलाई रोक्न उक्त खोप दिन थालिएको बताए।

उनका अनुसार वर्षेनि तीन लाख ५० हजारदेखि चार लाख बालबालिकालाई झाडापखाला लाग्ने र तीमध्ये नौ प्रतिशत बालबालिकाको मृत्यु हुने गरेको छ ।

बालबालिकामा पखाला लाग्ने ४० प्रतिशत रोटा भाइरसका कारणले हुने भएकाले उक्त खोप दिन थालिएको हो । ६० प्रतिशत अन्य भाइरस, परजीवी, जीवाणुजस्ता कारणले हुने गर्दछ । उनका अनुसार ‘रोटारिक्स’ यही असारभित्र शुरु गर्नका लागि सातवटै प्रदेश हुँदै सबै जिल्लामा पठाइसकेको छ । उक्त खोप सरकारका १६ हजार खोप केन्द्रबाट नियमित स्वास्थ्य स्वयंसेविकाले बालबालिकालाई खुवाइने छन् ।

बालबालिकालाई उक्त खोप पहिलोपटक छ हप्तामा र दोस्रो पटक १० हप्तामा खोप खुवाइने गरिन्छ । खोपको मात्रा १।५ मिलिलिटर हुन्छ ।

“एक बालबालिकालाई वर्षको दुईदेखि तीन पटक पखाला लाग्ने गरेको छ”, उनले भने, “पखालले गर्दा बच्चाको शरीरमा भएको पानी सकिन्छ (जलवियोजन) जसले गर्दा बच्चाको मृत्यु नै हुन्छ । त्यसैले पखाला रोक्न खोप दिइन थालेको हो ।”

अब नयाँ जन्मने बच्चा र छ महिना पुगेका बच्चाबाट उक्त खोपको शुरुआत गरिने शाखाका प्रमुख डा. गौतमले बताए । नेपालमा बाल मृत्युदर कम गर्न जन्मेदेखि एक वर्ष तीन महिनासम्मका बालबालिकालाई १२ प्रकारका खोप निःशुल्क दिइने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here