जातकै कारण नवराज विकहरु कहिलेसम्म मारिनु पर्ने ?


२४ जेष्ठ २०७७, शनिबार १७:४८ मा प्रकाशित

लक्ष्मी उप्रेती
समाजमा व्याप्त जातीय विभेद तथा छुवाछूत प्रथालाई न्यूनीकरण गर्ने उद्देश्यले २०७० सालको संविधानसभा निर्वाचनपछि बनेको तत्कालिन नेकपा एमाले नेतृत्वको (माधवकुमार नेपाल) सरकारले अन्तरजातीय विहे (दलित–गैरदलित) विवाह गर्नेलाई एक लाख रुपैयाँ प्रोत्साहन दिने घोषणा गर्यो ।

तर, नेपालपछिको एमालेकै (झलनाथ खनाल) सरकारले त्यो प्रोत्साहन खारेज गर्यो । नेपाल नेतृत्वको सरकारको पालामा उमेर पुगेका धेरैजसो अन्तरजातीय प्रेमजोडीहरू पुरस्कृत भए भने, धेरैले समस्या समेत झेल्नु पर्यो । कानुनी मापदण्ड पुरा गरेर सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा विवाह गर्ने र पुरस्कार लिनेबेला धेरै अन्तरजातीय जोडीहरू प्रशासनिक झमेलाको शिकार भएका घटनाको समाचारले त्यो बेला निक्कै चर्चा पाए ।

अन्तरजातीय विवाह गर्दा सार्वजनिक मुुद्घा, काजक्रियामा अवरोध, विस्थापन, गाउँ निकाला, परिवारबाटै हत्या यस्तै यस्तै समाचारका शीर्षक पनि बन्ने गरेका छन् । सरल भाषामा भन्ने हो भने अझै पनि समाजमा अन्तरजातीय विवाहलाई समाजिक विकृति विसङ्गतिकै रूपमा लिने र सोही अनुसार विभेद गर्ने चलन छ, र बढ्दै पनि गएकोे छ । हालै रुकुमका नवराज विकसहितको हत्या घटनाले त्यो पुष्टी गरेकै छ ।

हुन तः नेपाललाई सरकारले राजपत्रमा प्रकाशित गरी जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ जेठ १८ गते जारी गरेको थियो । त्यसैगरि जनआन्दोलनपश्चात पुनः स्थापित संसदले २०६३ जेठ २१ गतेलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन लागु भएको यतिका वर्ष तथा नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको झण्डै एकदशक बढी भईसक्दा सम्म व्यबहारिक रुपमा कार्यान्वयन नभएकै कारण यस्ता समस्या तपाई हाम्रो गाउँ शहरमा देखिने गरेका हुन भन्दा अत्यूक्ति नहोला ।

पछिल्ला केही घटना हेर्ने हो भने धेरै दलित समुदायले दलित भएकै कारण ज्यान गुमाउनु परेको छ । कोही अन्तरजातीय प्रेमविवाह गरेको कारण त कोही पानी छोएका कारण, कोहि धार्मिक मठ मन्दिरमा पुजा गर्न गएकै कारण यस्तो घटना हुने गरेका छन् । कथित आफूभन्दा तल्लो जातका केटासँग विवाह गरेको आरोपमा बाबुआमबाटै अन्तरजातीय विवाह गर्ने छोरीहरू तिरस्कृत हुने घटना पनि प्रशस्तै छन् । कथित उपल्लो जात भन्न्नेहरुका छोराले दलित समुदायका छोरीसँग विवाह गर्दासम्म केटा परिवारले उनलाई बुहारीका रुपमा स्वीकार गर्ने अवस्था छैन् ।

१० जेठमा रुकुम (पश्चिम)को चौरजहारी नगरपालिका–८ सोती गाउँमा एउटा जघन्य अपराधको घटना भयो । जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र चौरजहारी नगरपालिका– ८ सोती गाउँकी सुष्मा मल्लबीच केही वर्ष पहिलेदेखि प्रेमसम्बन्ध थियो । उनीहरु एकले अर्कालाई कति मन पराउथे भन्ने त पछिल्लो समय नवराज र सुष्माको फेसवुक म्यासेञ्जरवाटै प्रष्ट हुन्छ । उनीहरुबीच म्यासेञ्जरमा भएको कुराकानी अहिले निक्कै भाइरल बनेको छ ।

‘नवु काले मलाई लिन आउ मेरो पेटमा तिम्रो बच्चा हुर्किरहेको छ’ जवाफमा नवराजले लेखेका थिए ‘हुन्छ तर तिम्रो गाउँका मान्छे हाम्रो प्रेमलाई स्वीकार गर्दैनन् ,तिमीलाई थाहा छ पहिला पनि मलाई कुटेका छन् ।’ त्यसमा सुष्माले त्यसका लागि सरी सम्म भनेकि छन् । ‘ के गर्ने हाम्रो समाज नै यस्तै रहेछ । त्यसको लागि सरी है । बरु हामी भागेर जाउ कतै । कोहि नभएको ठाउँमा । ’ सुष्माको ‘रिप्लाई’

यतिमात्र होइन नवराजले पनि धेरै माया गर्दथे सुष्मालाई भन्थे ‘ यदि तिमीले मलाई पाएनौ भने के गछौं । ’ सुुष्माको सरल र सटिक जवाफ थियो ‘मैले हजुरलाई नपाउने कुरै भएन , यदि हजुरलाई मैले पाइन भने म पनि त यस धर्र्तीमा रहन्न हजुर वाहेक म कसरी बाच्न सक्छु र ।’ उनीहरु बीच भएको कुुराकानी कति मार्मिक छ । उनीहरु जिन्दगी भरी सँगै मर्ने बाच्ने कसमका साथ गफिरहेका थिए । यति हुँदा हुदै पनि नवराजमा धेरै डर त्रास र भय छ भन्ने उनले लेखेको कुराले प्रष्ट थाहा हुन्छ । ‘ सुष्मा मलाई त कता कता डर लागिरहन्छ । तिम्र्रो बुबा र ममी साथै परिवारले मलाई स्वीकार्दैनन् । मनमा पीर परिरहेको हुन्छ नानु सुष्मा ।’ नवराजले लेखेका छन् । नवराजका लागि सुष्माले पनि सबैलाई छाड्ने समेत विश्वास दिलाएकि छन् । उनले फेसबुक म्यासेञ्ञ्जरमा लेखेकि छन् ‘ यदि मेरो बुबा ममी साथै परिवारले हामीलाई स्वीकार नगरे हामी कसैले नदेख्ने ठाउँमा टाढा भागेर जानुपर्छ । फेरि हजुरले किन यस्तो कुरा गर्नुभएको । हजुरको लागि त म छदैछु नि टेन्सन नलिनु, मेरो मुटुको धडकन प्यारोे नवराज ।’

यस्तै थुप्रै कुरा दुईजनाबीच भएको छ । यसले पनि के अन्दाज गर्न सकिन्छ भने उनीहरू विवाहबन्धनमा बाँधिन चाहन्थे । प्रेमजीवनमा उनीहरू एक–अर्काको साथमा सँगै जीवन सुरुवात गर्न चाहन्थे । तर उनीहरुको यो प्रेम सम्बन्ध हाम्रो यो समाजले स्वीकार गरेन । कारण थियो बर्र्षैदेखिको समस्याको मुख्यः जड समाजमा कलंंकको रुपमा रहेको जातीय भेदभाव र छुवाछूत वा जातीय विभेद ।

आफ्ना १९ जना साथीसहित सोती गाउँमा रहेकी आफ्नी प्रेमिका लिन पुग्दा नवराजसहित उनका साथीहरू टीकाराम सुनार, गणेश बुढामगर, सन्दिप विक, गोविन्द शाही लोकेन्द्र सुनारको हत्या भयो । सुन्दा पनि कहालीलाग्दो, बर्बर अमानवीय घटना हो, यो । शायद नवराज कथित दलित भएकै कारण केटी पक्षका परिवार, आफन्त र गाउँले मिलेर नवराज र उनकी प्रेमिकालाई एक हुन नदिएका होलान । तर त्यहाँ एउटा बुढागरको छोरो मरेको छ, शाहीको छोरो मारिएको छ । दलित भएकै कारण नवराजले आफ्नी प्रेमिका त पाएनन् नै, कलिलो उमरमै ज्यान गुमाउनुप¥यो । न सुष्माले आफ्नो स्वेच्छाले आफुले चाहेको केटासँग विवाह गर्न पाइन् । यो घटनाले उनीहरूको सपना अधुरै रह्यो । जातीय विभेद्का कारण दलित समुदायमाथि हुने गरेको यो घटना न पहिलो हो नत अन्त्य नै ।

यतिवेला यो घटनाले देश तातेको छ । सडक र सदन तातेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यम तातेको छ । मानवअधिकारकर्मी तातेका छन् । २१औँ शताब्दीमा पनि यस्तो जघन्य अपराध ? दोषीलाई हदैसम्मको कारबाही गरिनुपर्ने माग उठेको छ ।

हुनतः विभेदको रूप चरम अवस्थामा हिजोदेखि नै छ र हाम्रो समाजमा जातीय विभेदको चरम रूप अझै छ । यो घटनाले २१ औँ शताब्दीको मानव सभ्यतालाई नै चुनौती दिएको छ । यो घटनाले दलित र गैरदलित सबैमा दलन गरेको छ । अहिले आम उत्पीडित दलित समुदाय यसप्रकारको दलनको अन्त्यगर्न चाहान्छ । अधिकारकर्मीहरुरुका अनुसार दलितमाथि देशका विभिन्न भागमा विभिन्न नाममा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक तथा शैक्षिक विभेद कायमै छन् । अनि यो देशका करीब १३ प्रतिशत उत्पीडित दलित समुदाय यसको अन्त्य गर्न माग गरिरहेका छन् । दलित समुदायका अगुवाहरु भन्छन् ‘छुवाछुतविरुद्घको कानुन कार्यान्वयन कमजोर ।’ कथित उपल्लो जातकी केटीसँग प्रेम गरेकै कारण काभ्रेका अजित मिजारको हत्या भएको घटना थियो । उनको शव चार वर्षदेखि अस्पतालमा छ ।

झापामै दुई वर्ष अघि अन्तरजातीय एकजोडीले रुखको एउटै हागोमा झूण्डिएर आत्माहत्या गरेका थिए । अन्तरजातीय विवाह र प्रेम सम्बन्धकै कारण पछिल्ला केही वर्षयता मात्रै दर्जनौँ घटना भएका छन् ।

अन्तरजातीय विवाह गरेको लामो समय भइसक्दासमेत अभिभावकहरूले उनीहरूलाई तिरस्कृत गर्ने गरेका छन् । दलितसँग विवाह गरेकै कारण अहिलेसम्म नागरिकता बनाउन पाएका छैनन् । कैयौं जोडी अभिभावकबाटै अस्वीकृत भई पीडित बनेका छन् । दलित परिवारलाई गैरदलित समुदायले सार्वजनिक किरियाघरमा समेत विभेद गरेका घटना सार्वजनिक भएका छन् । त्यस्तो घटनामा संलग्नलाई कारबाही गर्नुको साटो राजनीतिक संरक्षण समेत प्राप्त हुने गरेका घटना हाम्रो समजमा थुप्रै छन् ।

दलित अधिकारकर्मी अरुण नेपालीको भनाई सापट लिदाँ ‘ठाउँ ठाउँमा मानिसको मृत्युपछि गरिने दाहसंस्कारमा समेत चरम विभेद छ, खोलावारि दलितको घाट छ, खोलापारि अरू जातिको । अब अहिलेको अवस्थामा पनि सार्वजनिक खोलामा गरिने दाहसंस्कारमा समेत दलित समुदायलाई भेदभाव गरिन्छ ।’ उनले भनेका छन् ‘२१औँ शताब्दीको मानव सभ्यतालाई नै उपहास गर्ने, राज्यको कानुनलाई ठाडै चुनौती दिने, दलित समुदायलाई उत्तेजित बनाई पटक–पटक भइरहेको साम्प्रदायिक हिंसा भड्काउने घटना निन्दनीय छन् । यो मानवीय व्यवहार होइन र हुन सक्दैन । दलितमाथि नेपालका विभिन्न ठाउँमा, विभिन्न नाममा सांस्कृतिक, सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक विभेद कायमै छन् । जुन एक सामाजिक अन्याय र अपराध हो । ’

हाम्रो देशको संविधान र विभिन्न ऐनकानुनले जातका आधारमा विभेद गरे कसुरअनुसार सजायको व्यवस्था गरेको छ । कतिपय ठाउँमा यस्ता घटनाका दोषीमाथि कारबाही पनि भइरहेको छ । तैपनि, किन यस्ता घटना बारम्बार बढ्दै गइरहेका छन् त ? यसतर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । हाम्रो कानुन, घोषणापत्र तथा प्रतिबद्धता कति प्रभावकारी छन्, कति कार्यान्वयनमा आएका छन् ? यसको कार्यान्वयन हुन सक्दा मात्रै पनि नवराज विकहरुले जातकै कारण मृत्युवरण गर्नु पर्ने थिएन कि ! तर, कसले गर्ने कार्यान्वयन सरकारले या तपाई हामी उच्च जातिले ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here