बिर्तामोड । ‘एकका लागि एक’ अभियानले झापामा कोभिड १९ को संक्रमण परीक्षण गर्न प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको छ ।
बुधबार बिर्तामोडमा बसेको अभियानका साझेदार संस्थाको बैठकले जिल्लामा पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए ।नेपाल सरकारको सहयोग र समन्वयमा प्रयोगशाला स्थापना गरी परीक्षणको दायरा बढाउन अभियानले काम सुरु गर्ने भएको हो ।
प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।त्यसका लागि अभियानले संघसंस्था र व्यक्तिलाई सहयोगको अपिल पनि गरेको सहसंयोजक विनोद बस्नेतले बताए ।देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि प्रयोगशालाका लागि थप सहयोग आवश्यक भएको उनको भनाइ छ ।
झापाका संक्रमितहरुको संख्या बढिरहेको छ । थप झापालीहरु भारत र तेस्रो मुलुकबाट आउने क्रममा रहेको हुँदा संक्रमितको संख्या अझ बढ्ने निश्चित भएकाले प्रयोगशाला निर्माणमा अभियानले चासो देखाएको हो ।कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् ।प्रत्येक प्रयोगशालाले एक सय पिसिआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।





