काठमाडौं । पछिल्लो एक हप्तादेखि कोरोना भाइरसको संक्रमण दर ह्वात्तै बढेर जोखिम बढ्दै गएपछि सरकारले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणा गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा संख्या मन्त्रालयले जनस्वास्थ्य संकटकाल घोषणाको तयारी गरेको हो।
मन्त्रालयले तयार पारेको जनस्वास्थ्य संकटकाल घोषणाको कार्ययोजना मन्त्रिपरिषदबाट पास हुनासाथ लागू हुने मन्त्रालय स्रोतले जनाएको छ। मन्त्रालय स्रोतका अनुसार आज प्रधानमन्त्रीले गर्न लागेको विज्ञहरुसँग हुन लागेको सल्लाहमा पनि यस विषयमा छलफल हुने बताइएको छ।
नेपालमा कोभिड-१९ संक्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै जनस्वास्थ्य आपतकालीन अवस्था घोषणा गर्ने तयारी गरेको हो। सरकारले कोभिड-१९ सम्बन्धी ल्याएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ अन्तर्गत २ हजार सक्रिय केस पुगेपछि जनस्वास्थ्य संकटकाल घोषणा गर्ने उल्लेख छ।
स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले कोरोना भाइरस संक्रमितको २ हजार नाघेसँगै जनस्वास्थ्य संकटकाल घोषणा गर्न बाटो खुलेको बताए।





