२५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं: सभापति देउवा


२१ जेष्ठ २०७७, बुधबार १४:३३ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् । आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न करदाताहरूलाई आग्रह गरेको छ । नभए जरिवाना लाग्ने उसले बताएको थियो । यसको व्यवसायीहरूले विरोध गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनका कारण समस्यामा परेका साना ठूला व्यवसायीहरुलाई राहत दिनुको सट्टा लकडाउनको समयमा कर तिर्न ताकेता गरेर सरकार नागरिकको पीडाप्रति असंवेदनशील बनेको आरोप लगाएका छन् ।

करदाताले प्रतिकूल परिस्थिति भोगिरहेका बेला सरकारले सहजीकरण गर्नुपर्ने भन्दै उनले भनेका छन्, ‘सरकारले त्यो जिम्मेवारी निर्वाह नगरेर अनुदार ढंगले ताकेता गर्दा त्यसलाई भद्र अवज्ञा गर्नुभन्दा अर्को विकल्प नागरिकको रहँदैन ।’

अनावश्यक खर्च घटाउन मितव्ययिताका लागि गर्नुपर्ने वा गर्न सरकार गम्भीर नभएको तथा पीसीआर परीक्षण गरेर साना–ठूला व्यवसाय क्रमशः सञ्चालन गर्ने कार्ययोजना नबनाएको भन्दै उनले सरकारको आलोचना गरेका छन् ।

कांग्रेस सभापति देउवाले लकडाउनले मुलुकको समग्र क्षेत्रमा परेको असरको समग्र मूल्याङ‍्कन गर्न र जेठ २५ भित्र कर तिर्न गरिएको ताकेता फिर्ता गर्न समेत सरकारसँग माग गरेका छन् । उनले भनेका छन्, ‘यो ताकेता स्थिति मूल्याङ्कन साथ संवाद मार्फत समयावधि थप गर्न सरकार समक्ष माग गर्दछु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here