चैत ११ गतेदेखि जारी लकडाउनको अवज्ञा हुन थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल थालेका छन्। लकडाउन अढाई महिना पुग्दै गर्दा जनजीवन संकटग्रस्त भएपछि अहिलेसम्मको समीक्षा र नयाँ विकल्पबारे प्रधानमन्त्री ओलीले बुधबार विज्ञहरुसँग संवाद गर्ने भएका हुन्।
प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले बुधबार अपरान्ह ४ बजे बालुवाटारमा छलफल गर्ने गरी विभिन्न क्षेत्रका २५ जना विज्ञलाई बोलाएका छन्। ‘यो छलफलमा अहिलेसम्मको लकडाउनको समीक्षा हुनेछ। त्यसैगरी लकडाउनले पारेका प्रभाव र आगामी रणनीतिबारेमा प्रधानमन्त्रीले छलफल गर्नुहुनेछ’,थापाले भने, ‘छलफलमा अर्थविद्, स्वास्थ्य क्षेत्रका विज्ञ,सामाजिक अगुवासहितका करिब २५ जनालाई बोलाइएको छ।
थापाका अनुसार प्रधानमन्त्रीले लकडाउनको मोडालिटीसहित अहिलेसम्मको अवस्थाबारे पनि विज्ञहरुसँग समीक्षा गर्ने छन्।





