गौरीगञ्जमा चार जना सङ्क्रमित थपिएसँगै झापाका सात वटा स्थानीय तहमा फैलियो कोरोना


१८ जेष्ठ २०७७, आईतवार १७:२२ मा प्रकाशित

पार्थ मण्डल
भद्रपुर, (झापा) । झापाका स्थानीय तहमा कोरोना भाइरसका सङ्क्रमित फैलिरहेका छन् । गौरीगञ्ज गाउँपालिकामा आइतबार चार जनामा कोरोना सङ्क्रमित पुष्टिसँगै जिल्लाका १५ वटा स्थानीय तहमध्ये सात वटा स्थानीय तहमा संक्रमण फैलिएको हो ।

योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ । कोसी अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पिसीआर परीक्षणको रिपोर्टमा गौरीगञ्जका क्वारेन्टाइनमा बसेका चार जनामा कोरोना संक्रमण पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । उनका अनुसार गौरीगञ्ज गाउँपालिका ६ नम्बर वडा बस्ने २३, ३७ र ३९ वर्षीय पुरुष र वडा नम्बर ५ बस्ने १८ वर्षीय पुरुषमा संक्रमण भेटिएको हो ।

भारतको सङ्क्रमित क्षेत्र मुम्बई तथा गुजरातबाट उनीहरू जेठ १५ गते स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका उनीहरूलाई सोजै गाउँपालिकाले स्थापना गरेको प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा लगेर राखिएको थियो । उनीहरूको स्वाब त्यहीबाट सङ्कलन गरी परीक्षणका लागि पठाइएको बताइएको छ । उनीहरूलाई थप उपचारका लागि धरान वा विराटनगर कहाँ पठाउने भनी छलफल भइरहेको छ । यसअघि जिल्लाको कचनकवल गाउँपालिकामा सबै भन्दा बढी सङ्क्रमित भेटिएको छ । गाउँपालिकामा ७३ जना सङ्क्रमित भेटिएको हो ।

त्यसै गरी बाह्रदशी र गौरदाहमा दुई–दुई जना, दमक नगरपालिका, भद्रपुर नगरपालिका र झापा गाउँपालिकामा एक– एक जना सङ्क्रमित थपिएका थिए । दमक र बाह्रदशीका गरी दुई जना निको भएर घर फर्किसकेका छन् ।

जिल्लामा पछिल्लो पटक भेटिएको सङ्क्रमित भारतसँग जोडिएको स्थानीय तहहरूमा फेला पर्न थालेको छ । दमक बाहेक ६ वटा स्थानीय तह सीमा नाकासँग जोडिएको छ । त्यहाँ आउने सबै भारतबाट आएका व्यक्ति हुन् । दमकमा मात्र दुबईबाट आएका एक पुरुषबाट उनका बुबामा कोरोना पोजेटिभ सरेको थियो । झापामा पुष्टि भएका सङ्क्रमित प्रदेश १ कै जिल्लामा सबै भन्दा बढी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here