भद्रपुर । झापामा बिहीबार थप २५ जना कोरोना संक्रमित पुष्टि भएको छ ।
कोशी अस्पताल विराटनगरको प्रयोगशाला गरिएको पीसीआर परीक्षणमा झापामा थप २५ जनामा कोरोना संक्रमित पुष्टि भएको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले जानकारी दिए । सबै कचनकवलका क्वारेन्टाइन बसेकाबाट पुष्टि भएको उनले बताए । कचनकवल गाउँपालिकामा २५ जना थपिएसँगै झापामा कोरोना संक्रमितको संख्या ७९ पुगेको छ । कचनकवलमा मात्रै संक्रमितको संख्या ७३ जना पुगेको हो ।
कचनकवलमा बुधबार मात्रै १५ जना थपिएका थिए । गाउँपालिकाले १६२ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । त्यसमध्ये बुधबार ५६ जनाको रिपोर्ट आएकोमा बिहीबार अन्यको रिपोर्ट आउँदा संक्रमितको संख्या बढेको बताइएको छ ।
क्वारेन्टाइनमा बसेका सबै भारतको संक्रमित क्षेत्र मुम्बई,दिल्ली, गुजरात, तामिलनाडु भन्ने स्थानबाट आएका हुन् । गाउँपालिकाकामा अहिलेसम्म भारतबाट ४ सय बढी नेपाली नागरिक आइसकेका छन् ।
यसअघि झापामा बाह्रदशी गाउँपालिका र गौरदाह नगरपालिकामा दुई/दुई जना र झापा गाउँपालिका र दमक नगरपालिकामा एक एक जना संक्रमित भेटिएका थिए ।





