नेपाल झण्डै साढे ११ खर्ब ऋणमा,प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ


१३ जेष्ठ २०७७, मंगलवार २२:१२ मा प्रकाशित

नेपालको अहिलेसम्म झण्डै साढे ११ खर्ब ऋण रहेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको आर्थिक सर्वेक्षण अनुसार नेपाललाई ११ खर्ब ३९ अर्ब ८० करोड ऋण लागेको छ ।

प्रतिनिधिसभामा मन्त्री खतिवडाले पेश गरेको आर्थिक सर्वेक्षण अनुसार यस वर्ष मात्र नेपाललाई ९१ अर्ब ९० करोड ऋण थपिएको छ ।

२०७६ असारसम्म कुल तिर्न बाँकी ऋण १० खर्ब ४७ अर्ब ९० करोड रहेकोमा ९१ अर्ब ९० करोड थप भई फागुनसम्ममा ऋण बढेर ११ खर्ब ३९ अर्ब ८० करोड पुगेको मन्त्री खतिवडाले जानकारी दिए । जसमा आन्तरिक ऋण ४ खर्ब ४० अर्ब ५ करोड र वाह्य ऋण ६ खर्ब ९९ अर्ब ७५ करोड छ ।

मंगलबारको जनसंख्यालाई आधार मान्दा प्रतिव्यक्तिको थाप्लोमा ३८ हजार ३४ रुपैयाँ ऋण हुन आउँछ । केन्द्रीय तथ्यांक विभागका अनुसार मंगलबार नेपालको जनसंख्या २,९९,६७,३१९ रहेको छ ।

चालु आर्थिक वर्ष २०७६/७७ को फागुन महिनादेखि अर्थतन्त्र र नागरिकको आयमा तीव्र गिरावट आएको पनि सर्वेक्षणमा उल्लेख छ । गरीबीको संख्या भने दुई प्रतिशतले घट्ने प्रक्षेपण सरकारले गरेको मन्त्री खतिवडाले बताए ।

आव २०७४/७५ मा १८.७ प्रतिशत रहेको निरपेक्ष गरीबीको संख्या चालू आवमा १६.६७ प्रतिशत रहने उनले बताए । फागुनसम्म नेपाली अर्थतन्त्र ठीकै भए पनि कोरोनापछि भने अवस्था नाजुक बनेको उनको भनाइ छ । चालू आवमा आर्थिक वृद्धिदर पनि २.३ प्रतिशतमा सीमित रहने उनले जानकारी दिए ।

संसदका दुबै सदनमा पेश गरिएको आर्थिक सर्वेक्षणमा पछिल्ला तीन वर्षमा भने आर्थिक वृद्धिदर औषत ७.३ प्रतिशत रहेको जानकारी दिइयो ।
यस आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन गत वर्षको तुलनामा ७.५ प्रतिशतले बढेर एक लाख २६ हजार १८ (अमेरिकी डलर १,०८५० ) पुग्ने छ । यस वर्षको फागुनसम्म उपभोक्ता मुद्रास्फीति दर ६.५ प्रतिशत रहेको पनि जानकारी दिइयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here