बुटवल । गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा लापरवाही भएको भन्दै मर्चवारका स्थानीयले विरोध प्रदर्शन गरेका छन् ।
रूपन्देहीको मर्चवार क्षेत्रको कोटहीमाई गाउँपालिकाले वडा नंं. ६ हर्दीस्थित बोगडी माविमा बनाएको क्वारेन्टाइनमा भद्रगोल अवस्था रहेको र मापदण्ड पालना नगरिएको भन्दै शनिबार बिहान स्थानीय बासिन्दा प्रदर्शनमा उत्रिएका हुन् ।
क्वारेन्टाइनमा बसेकाहरुका लागि खाना पकाउने १० जना कर्मचारी क्वारेन्टाइनमै बस्नुपर्नेमा नबसी दिनहुँ घरबाट आउ–जाउ गरेका, क्वारेन्टाइनमा पकाएको खाना लिएर गाउँ जाने गरेका र क्वारेन्टाइनमा बसेकाहरु समेत साँझमा बाहिर निस्केर डुल्ने गरेको स्थानीयको आरोप छ ।
७२ जना बसेको क्वारेन्टाइन व्यवस्थित नहुँदा समुदायमा कोरोना संक्रमण फैलिनसक्ने भन्दै हर्दी गाउँका सात वटा टोलका करिब चारसय जनाले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।
क्वारेन्टाइन नजिकै करिब एक घण्टा नाराबाजी गरेका उनीहरु गाउँपालिका अध्यक्ष र प्रहरी आएपछि भने तितरबितर भएका थिए । उनीहरुले क्वारेन्टाइनका कर्मचारीलाई घर आउ जाउ गर्न नदिई क्वारेन्टाइनमै छुट्टै व्यवस्था गरेर राख्नुपर्ने, क्वारेन्टाइनबाट बाहिर फोहोर फाल्न रोक्नुपर्ने र क्वारेन्टाइनस्थलमा नियमित प्रहरी र स्वास्थ्यकर्मी खटाउनुपर्ने माग गरेको बताएका छन् ।
क्वारेन्टाइनमा बसेकाहरुले खाना खाएको प्लास्टिकको थाल र गिलास बाहिर सडकमा जथाभावी फ्याँक्ने र पशु चौपायाले खाने गर्दा पनि जोखिम बढ्न सक्ने भन्दै बाहिर फोहोर नफाल्न माग गरेको स्थानीय अगुवा निशान्त पाण्डेले बताए ।
गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले आफूविरुद्ध नाराबाजी गरेकाहरुले औपचारिक रुपमा कुनै माग नराखेको बताए । क्वारेन्टाइनका कर्मचारीले सामाजिक दुरी कायम गरेर सुरक्षित तरिकाले काम गरेकाले घर आउजाउ गर्दैमा विरोध गर्न नहुने बताए ।
क्वारेन्टाइनमा दिनको समयमा स्वास्थ्यकर्मी हुने र प्रहरीले बेलाबेलामा गस्ती गर्ने गरेको उनले बताए । महामारीको बेलामा यसरी मान्छे जम्मा गरेर नारा जुलुस गर्नु गैरकानूनी र असामाजिक काम भएकाले प्रहरी प्रशासनले यस्तो परिपाटीलाई रोक्नुपर्ने उनको माग छ ।
कोटहीमाईका चार वटा क्वारेन्टाइनमा ३ सय ७० जना रहेका छन् । रुपन्देहीको पहिलो कोरोना संक्रमित कोटहीमाई १ का २५ वर्षीय युवक पनि निको भएर घर फर्किसकेका छन् ।





