कोरोना संक्रमित बढेपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’


६ जेष्ठ २०७७, मंगलवार ०८:४८ मा प्रकाशित

कपिलवस्तु । कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि कपिलवस्तु जेठ २० गतेसम्म ‘सिल’ गरिने भएको छ।

कोरोना संक्रमण न्यूनीकरणका लागि सरकारले लागू लकडाउन प्रभावकारी बनाउन भन्दै जिल्ला सुरक्षा समितिको बैठकले जिल्ला सिल गर्ने निर्णय गरेको हो ।

यसअघि २९ वैशाखदेखि जेठ ५ गतेसम्म जिल्ला सिल गर्ने निर्णय भएको थियो । अब जेठ २० गतेसम्म नै जिल्ला सिल गरिने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । बैठकले तरकारी, खाद्यान्न र अतिआवश्कीय समान खरिद गर्ने समय पनि छोट्याउने निर्णय गरेको छ ।

सुरक्षा समितिका अनुसार सोमबार, बुधबार र शनिबार बिहान ७ देखि ९ बजेमात्र तोकिएको छ । यसअघि प्रत्येक दिन बिहान २ घण्टाको समय तोकिएको थियो । जिल्लाभित्र गुड्ने सबै प्रकारका सवारीसाधन र मानिसको आवतजावतलाई पुरै रोक लगाइएको छ । उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय र निर्माणसँग सम्बन्धित सबै काम गर्न समेत रोक लगाइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ दफा ६ (३) क र संक्रामक रोग ऐन २०२० दफा २ (१) बमोजिम पूर्ण रुपमा रोक लगाइएको प्रजिअ पौडेलले बताए । जिल्लाका १० स्थानीय तहमध्ये ९ पालिकामा सोमबारसम्म ४३ जना कोरोना संक्रमित भेटिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here