झापाका औषधि पसलबाट दर्ता बिनाका औषधि जफत


४ जेष्ठ २०७७, आईतवार २०:३२ मा प्रकाशित

भद्रपुर, (झापा) । झापाका औषधि पसलहरूले दर्ता बिनाका औषधिहरू बिक्री गरिरहेको फेला परेको छ ।

कोरोना त्रासपछि लकडाउनको समयमा औषधि पसलहरूले मास्क, पन्जा तथा स्यानिटाइजर बढी मूल्यमा बिक्री गरेको जनगुनासो बढेपछि आइतबार सदरमुकाम भद्रपुर नगर क्षेत्रका औषधि पसलहरूको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा तीन वटा पसलबाट दर्ता बिना र खाद्य पूरक औषधि जफत गरिएको छ । दुर्गा मेडिकल हल भद्रपुर, कृपा फार्मेसी चन्द्रगढी र संगम औषधालयबाट ती औषधि जफत गरिएको औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सञ्जीव शर्मा कट्टेलले जनाकारी दिए । औषधि जफत गरिएका तीनै वटा पसललाई लकडाउनपछि कार्यालयमा उपस्थित हुन निर्देशन दिएको उनले बताए ।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा औषधि व्यवस्था विभाग विराटनगर, घरेलु तथा साना उद्योग कार्यालय, भद्रपुर नगरपालिका, झापा उद्योग वाणिज्य सङ्घले संयुक्त रूपमा नगर क्षेत्रका १२ वटा औषधि पसलको अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा औषधि पसलहरूले उपभोक्तालाई बिल नदिने गरेको, कस्मेटिक सामान बिक्री गरेको, नवीकरण नगरिएका पसललाई सचेत पत्र दिइएको र फेरि पनि त्यस्तै भेटिए जरिवाना गरिने जिल्ला बजार अनुगमन समितिका संयोजक तथा झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए ।

अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी राई, औषधि व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख कट्टेल, घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख छविलाल खतिवडा, कर्मचारी दुर्गा बास्तोला, जिल्ला स्वास्थ्य कार्यालय झापाका प्रमुख ईश्वरी पौडेल, भद्रपुर नगरपालिका राजेन्द्र ढकाल र झापा उद्योग वाणिज्य सङ्घका महासचिव पंकज शर्मा लगायतको उपस्थिति रहेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here