कोरोना भाइरस संक्रमणका कारण पाल्पा जिल्ला जेठ ५ गते सम्म शिल


२ जेष्ठ २०७७, शुक्रबार १९:५२ मा प्रकाशित

पाल्पा । कोरोना भाइरस संक्रमणका कारण पाल्पा जिल्लालाई शिल गर्ने भएको छ ।

जिल्लालाई शनिबार बिहान ५ बजे देखि जेठ ५ गते राति १२ सम्म शिल गर्ने निर्णय गरेको छ । सर्वदलिय एवं सर्वपक्षिय बैठकले पाल्पा जिल्लालाई शिल गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला रुपन्देही, नवलपरासी लगाएतका जिल्लाहरुमा कोरोना संक्रमण बढेपछि संक्रमण रोकथामको लागि जिल्ला शिल गर्ने निर्णय गरेको हो । बढ्दो संक्रमण र देशभर फैलिदै गएको यसको प्रभावलाई ध्यानमा राखी औषधी, एम्बुलेन्स, शव वाहन, दमकल तथा राजमार्गमा गुड्ने सवारी साधनहरु जिल्ला भित्र ओर्लिन र चढ्न नपाउने गरी खुल्ला गर्ने र बाँकी सबै प्रकारका सवारी साधनहरुको जिल्ला भित्र प्रवेश गर्न र बाहिर जान पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो ।

त्यस्तै बैठकले भारत लगायत अन्य जिल्लाबाट आउने मानिसहरुको संख्या बढ्न सक्ने सम्भावना भएकोले कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रणको लागि स्थानीय तहहरुमा नगरपालिकाले कम्तिमा ५ सय वेड र गाउँपालिकाले कम्तिमा २ सय ५० वेड क्षमताको क्वारेन्टाइन निर्माण गर्ने, आएकाहरुलाई सम्बन्धित स्थानीय तहहरुले अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्‍ने, चैत्र ११ गते पछि भारत तथा अन्य मुलुकबाट आएका व्यक्तिहरुको नाम, ठेगाना, उमेर, सम्पर्क नम्बर संकलन गरी जिल्ला प्रशासन कार्यालय पाल्पामा पठाउने, अग्रभागमा खटिएका सुरक्षाकर्मीहरु र स्वास्थ्यकर्मीहरुको कोभिड–१९ परिक्षण गर्ने निर्णय गरेको छ ।

संक्रमित बिरामीहरुको उपचार गर्नको लागि रामपुरमा ५० वेडको आईसोलेसन कक्ष रामपुर नगरपालिका र निस्दी गाउँपालिकाको सहयोगमा, ताहुँ स्वास्थ्य केन्द्रमा १० वेडको आईसोलेसन कक्ष रम्भा र पूर्वखोला गाउँपालिकाको सहयोगमा, खस्यौलीमा १० वेडको आईसोलेशन कक्ष रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिकाको सहयोगमा र तानसेनमा ५० वेडको आईसोलेशन कक्ष बगनासकाली, माथागढी, तिनाउ गाउँपालिका र तानसेन नगरपालिकाको सहयोगमा निर्माण गरिने भएको छ ।

त्यस्तै परिक्षण गर्नको लागि जिल्लामा तत्काललाई एक हजार पिसिआर किट र स्वास्थ्यकर्मीले प्रयोग गर्ने २ सय थान पिपिई सेट स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश नं. ५, सामाजिक विकास मन्त्रालयमा माग गर्ने निर्णय गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here