काठमाडौं । सरकारले वैशाख २५ गतेपछि पनि लकडाउन लम्ब्याउन संकेत गरेको छ । यद्यपि यसबारे भोलि बस्ने मन्त्रिपरिषद्ले निर्णय गर्नेछ ।
प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकमा जोखिमका आधारमा ७७ जिल्लालाई रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गर्ने र त्यसअनुसार लकडाउन कडा वा खुकुलो बनाउने प्रस्ताव पेश गरेको थियो ।
तर, प्रधानमन्त्री त्यसमा सहमत नदेखिएको समितिका एक सदस्यले बताए । उनले अहिले नै क्षेत्र छुट्याएर जान सकिन्छ र भन्ने प्रश्न गरेका थिए । अहिले नै सुरक्षित क्षेत्र घोषणा गर्न नसकिने भएकाले परीक्षण बढाउनु पर्नेमा जोड दिएका छन् ।
एक मन्त्रीका अनुसार समितिमा भएको छलफलका आधारमा प्रधानमन्त्री कार्यालयले प्रस्ताव बनाउने छ र भोलि ११ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा छलफल हुनेछ ।
बैठकपछि प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले कोरोना संक्रमण रोकथामका लागि अहिले लिएको बाटो ठिक भएको निष्कर्ष निकालेको बताए ।





