झापाको दुईवटा नगरपालिकाबाट आठजना सडकमा बस्ने महिलाहरुको उद्धार


२२ बैशाख २०७७, सोमबार १९:५९ मा प्रकाशित

झापा । १ नम्बर प्रदेशलाई सडक मानव मुक्त प्रदेश बनाउने प्रदेश सरकारको उदेश्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट आठजना सडकमा बस्ने महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा पठाइएको छ ।

मेचीनगर नगरपालिकाका ५ तथा विर्तामोड नगपालिकाका ३ गरी कुल आठजनालाई १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा विराटनगरको मानव सेवा आश्रममा ल्याइएको सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले जानकारी दिइन् ।

उनका अनुसार लकडाउनका कारण अहिले मानशिक सन्तुलन गुमाएका वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाँध्य अधिकांश मानिसहरुमध्ये महिला बढी जोखिममा परेकाले महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर आश्रममा लगिएको हो ।

आश्रममा ल्याइएकाहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमिरेस चेन रियाक्सन (पीसीआर) विधिबाट थ्रोड स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिइन् । अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड–१९ को संक्रमण भइरहेका बखत उनीहरुलाई सोझै आश्रममा राख्दा समसया हुने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्नुपरेको राज्यमन्त्री गजमेरको भनाई छ ।

राज्यमन्त्री गजमेरका अनुसार मानव सेवा आश्रममा ती व्यक्तिहरुलाई राख्ने र आश्रमलाई सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गर्ने बताइन् ।

यसअघि सडकमा हिड्दै गर्दा सवैले उनीहरुलाई खानेकुरा व्यवस्थापन गरे पनि अहिले लकडाउनका कारण खानेकुराको समस्या त छदैछ त्यसमा पनि महिलाहरुमा बलात्कारलगायत महिला हिंसाको घटना बढ्ने डरले उनीहरुको व्यवस्थापन गरिएको बताइएको छ । लकडाउन खुलेपछि सडकमा बस्ने पुरुषहरुलाई समेत सरकारले उचित व्यवस्थापन गर्ने मन्त्री गजमेरको भनाई छ ।

मेचीनगरको काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीको सहयोगमा मेचीनगर नगरपालिकाको एम्बुलेन्समा राखेर विराटनगर पठाइएको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here