ताप्लेजुङ । सदरमुकाम फुङलिङ बजारको पुरानो बैैंक लाइन ट्याक्सी स्टेशन छेउमा शुक्रबार बेलुका भिषण आगालागी भएको छ ।
आगलागीबाट ७ वटा घर पुर्णरुपमा जलेका छन् ।राती साढे १० बजेतिर भण्डारी खाजाघर छेउबाट सुरु भएको आगो उत्तरतिर नेपाली कांग्रेसको पार्टी कार्यालय बसेको घरसम्म पुगेको थियो । दक्षिणतिर भने राम चौधरीको घर पुरै र दुर्गा ढुङ्गानाको दूध डेरी आंशिक रुपमा भत्काएर आगो नियन्त्रमा लिने प्रयास गरिएको थियो ।
फुङलिङ नगरपालिकाको दमकल,नेपाल प्रहरी, नेपाली सेना तथा स्थानीयको संयुक्त प्रयासमा आगो नियन्त्रमा लिने कोशिस भएको थियो ।अगलागीबाट खड्ग थापा, भट्टराई चिया पसल, सरस्वती बुक एण्ड स्टेशनरी लगायत थुप्रै व्यक्तिगत घरहरु जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।
आगलागीको कारण भने खुलेको छैन ।आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।





