देवी गौतम
झापा । अहिले विश्व नै कोभिड–१९ को घनचक्करमा रुमल्लिरहेको विषम परिस्थितिमा नेपालका राजनीतिक दलहरु सत्ता टिकाउने र सत्ता भत्काउने फोहोरी खेलमा लिप्त छन् भन्ने कुरा पछिल्लो हप्ता शृंखलाबद्द रुपमा घटेका कतिपय घटनाले पुष्टी गरेका छन् । यो लेख लेख्नुको मुख्य उद्देश्य नेपाली राजनीति किन फोहोरी खेलमा परिणत हुँदै गइरहेको छ, आजका नौजवान युवामा राजनीतिप्रति किन पटक्कै आकर्षण छैन र मुलुकले किन काँचुली फेर्न सकेन भन्ने बिषयमा केन्द्रित रहेको छ ।
सर्वप्रथम केहि प्रतिनिधि घटना, जुन पछिल्लो हप्ता शृंखलाबद्द रुपमा घटेका घटना हेरौं । छिनभरमै प्रधानमन्त्रीले अघि सारेको अध्यादेश दुइ घण्टा नि नबित्दै राष्ट्र्पतिको लालमोहर, त्यसैगरी दुइ दिन नि नबित्दै त्यसको खारेजी, निर्वाचित संघीय सांसद अपहरण जस्तो देखिने कृत्य त्यसमा जोडिएका पूर्व आइजीपी साथै नेकपाका नेताहरु । अरु त् अरु प्रधानमन्त्री स्वयम् नैतिक पतन हुने यो घटनामा जोडिनु भनेको ५० को दशकमा भेडाबाख्रा जस्तो सांसद किनबेचको पुनरावृत्ति बाहेक अरु केहि पनि होइन ।
झण्डै दुइ तिहाईको मत पाएको नेकपा नेताका दिनै पिच्छेका खुमलटार, भैंसेपाटी बालुवाटार, शितलनिवास र कोटेश्वोर केन्द्रित बैठकले अब के हुने होला भन्ने त्रासमा आफै परेका छन् । मधेश केन्द्रित दल र अन्य साना भनिएका विपक्षी सहयात्रीहरु पनि यस्तै कोठे बैठकमा मुख मिठ्याउदै सरकार परिवर्तन हुने आशमा देखिएका छन् । बढी राजनीतिक दाउपेच नेतृत्वले गरेको पाइएको हुनाले सत्ता खिचातानी तिनैले बढी गर्छन जसलाई मृत्युपर्यन्त राजनीति गर्नुछ ।
यो मुलुकको दुर्भाग्य भनेकै राजनीतिमा युवा वर्गले स्थान नपाउनु हो भन्दा अत्युक्ति हुदैन होला सायद । बुढाहरुले शासन गर्ने व्यवस्थालाइ बुढातन्त्र (जेरेंटोक्रेसि) भनिन्छ । यसको प्रत्यक्ष उदाहरण तपाई बसेको टोललाई लिन सक्नुहुन्छ । तपाइको नजिकको सरकारी विद्यालय व्यवस्थापन समिति, सरकारी अस्पताल उपभोक्ता समिति वा भनौ अधिकांश स्थानीय तह, प्रदेश सरकार र समग्र संघीय प्रणालीलाई नेतृत्व गर्ने नेतृत्व् पंक्तिलाई लिन सकिन्छ जहाँ झण्डै ७० वर्ष कटेका व्यक्ति विराजमान छन् ।
जेरेंटोक्रेसि हुँदैमा मुलुकले परिवर्तन गर्न सक्दैन भन्ने मेरो तर्क यहाँ होइन । मेरो तर्क के हो भने जति पनि अनुभवले खारिएका इतिहासलाई सुझबुझपुर्ण रुपमा आत्मबोध गरेका समाजका यस्ता व्यक्तित्वहरुले आफ्ना नया पिंडी जसलाई उहाँहरुले नै प्रशिक्षित गर्दै आउनु भयो, के अब आफु सल्लहाकारमा बसेर नेतृत्व हस्तान्तरण गर्न सकिदैन भन्ने हो ? भए जतिका सम्पूर्ण राजनीतिक भागबण्डामा तपाईहरुले मात्र कब्जा गरिदिने हो भने तपाइले मलजल गरेर हुर्काएका तपाईका कार्यकर्ता जहिल्यै नरहन सक्छन् ।
आजको युवा अलिकति भए पनि शिक्षित छ । हो/होइन छुट्याउन सक्छ, बहस गर्छ, छलफल गर्छ, पारदर्शितालाई अवलम्बन गर्ने प्रयास गर्छ नराम्रोलाई नराम्रो र राम्रोलाई राम्रो भन्ने हैसियत राख्छ । आज भएको नै यहि हो, युवा वर्ग राजनीतिमा नभएको चै होइन तर जति पनि युवा वर्ग जेरेंटोक्रेसिको वरपर देख्नु हुन्छ वा यसो भनौ आफ्नो स्वाभिमान बेचेर उहाँहरुले झोले कार्यकर्ताको उपमा पाएको त्यसै होइन किनभने नेतृत्वले उर्दी जारी गरेको भरमा सत्य कुरा बोल्ने आँट आजको तन्नेरी भनिएको कार्यकर्ताले गर्न सक्दैन । बस, अर्को पटकको चुनावको टिकट पाउँछु कि पाउदिन १ भन्ने भय जुन अहिले मडारिएको हुन्छ उसको मनमा । जब युवाको जोश जाँगर सबै मर्छ अनि नेतृत्व दिने जुन प्रणाली मुलुकमा विधमान छ यसले बुढा हुन्जेल सम्म पनि व्यक्तिले आफुलाई तन्नेरी त ठान्छ तर स्वयम् केहि गर्न नसक्ने स्थितिमा पुग्छ र यो नै नियमित प्रणाली बन्छ ।
आज विकसित भनिएका देश कसरि विश्वको ध्यान खिच्न योग्य भए भन्ने अर्को गहन विषय हो । आज मुलुकमा जीवनपर्यन्त राजनीतिलार्इ नै पेशा बनाउने र सत्ताको वरिपरि राल चुहाउने जुन प्रवृत्ति छ दुर्भाग्यको विषय यहि बनेको छ । राजनीति गर्ने व्यक्तिले १० या २० वर्षको जेलजीवन बिताए भनेर त्यसैको ब्याज स्वरुप जीवनपर्यन्त पेशा बनाउनु नै मुलुकले काँचुली फेर्न नसकेको उदाहरणको रुपमा लिन सकिन्छ ।
प्राय राजनीतिक दलका नेताका कुरा सुन्नु भयो भने उहाँहरुले भन्ने कुरा एउटा नै हुन्छ मैले यति वर्ष जेल विताएको । जेल नेल भोग्नु भयो विभिन्न राजनीतिक परिवर्तन नि आयो तर यतिमात्र भनेर मृत्युपर्यन्त राजनीतिको बागडोर सधै आफुसंग मात्र हुनुपर्छ भनेर युवापुस्तालाई राजनीतिक विरासत जबसम्म हस्तान्तरण गरिदैँन तबसम्म मुलुकले नयाँपनको आभाष पक्कै गर्न पाउने छैन ।
आज विश्व नै एउटा महामारीबाट संक्रमित भै रहदा स्वास्थ्यसंग सम्बन्धित विज्ञको टोलि देशैभर उपस्थित हुन् किन सकेन ? भोलि शिक्षासँग तेस्तै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ने छ शिक्षाको नेतृत्व आवश्यक छ । आज मुलुक बाहिर रहेका नेपाली दाजुभाइले पठाएको रेमिट्यान्सले मुलुक धानिएको भनिएको छ । अब यो क्रम घट्दो हुनेवाला छ । उनीहरु फर्केपछिको विकल्पमा कृषिप्रधान मुलुकमा खाका तयार गर्ने बिज्ञ समुह खै ? राजनीतिक दलका नेता हुँदैमा र कपाल फुल्दैमा विज्ञ पक्कै हुइदैँन होला । त्यसकारण राष्ट्रमा आइपर्ने जुनसुकै समस्यासँग जुध्न सम्बन्धित विषयका निपुर्ण व्यक्तिलाई अवसर दिनुपर्छ । अफसोच धेरै विज्ञ व्यक्तिले राजनीति दाउपेच वा सम्बन्धित पार्टीको कार्यकर्ता नभएका कारण यस्तो अवसर नै पाउदैन ।
राजनीतिमा धेरै भन्दा धेरै छलफलको आवश्यकता हुन्छ भनिन्छ । कुनै चिज ठुलो हुदैमा राम्रो हुन्छ भन्ने हुदैन जुन कुराको पुष्टी नेकपाको सरकारले छताछुल्ल हुने गरि देखाउदै गईरहेको छ । लाइक माइन्डेड व्यक्तिहरुको एउटा उद्देश्य प्राप्तिका लागि जनहित र राष्ट्र्प्रति समर्पित तिनै समुह जब सत्तालिप्सामा लिप्त हुन्छन् तब तिनले आफ्ना चाटुकार बाहेकका सबैलाई षडयन्त्रकारी जस्तो देख्छन् । यसो भनिरहदा सरकार इतरका दल भन्दा वर्तमान सरकारलाई आफ्नैबाट बढी पिरलो परेको देखिन्छ । मुलुकमा स्थिर सरकार नचाहने जो कोहि यसका हकदार हुन् भन्दा फरक पर्दैन होला । आफुले जानेका कुरालाई भावी पीडीको पथप्रदर्शकको रुपमा रहनु र नेतृत्व हस्तान्तरण अहिलेका सिनियर लेबलका नेतृत्वको कर्तब्य पनि हो ।
लेखक सूर्योदय टेलिभिजनका कार्यक्रम प्रमुख हुन्





