झापा उद्योग वाणिज्य संघद्वारा निःशुल्क तरकारीको बीऊ वितरण


१४ बैशाख २०७७, आईतवार १५:१९ मा प्रकाशित

झापा । लकडाउनका कारण बजारमा तरकारीको अभाव देखिन थालेपछि झापा उद्योग वाणिज्य संघले तरकारी उत्पादनलाई प्रोत्साहित गर्न निःशुल्क रुपमा तरकारीको बीऊ बिजन वितरण गरेको छ ।

भारतमा उत्पादित तरकारीमा निर्भर झापाको भद्रपुर लगायतका बजारमा तरकारी आयात रोकिएपछि तरकारीको अभाव देखिएको हो भने मूल्य पनि आकाशिएको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको प्राणघातक कोरोना भाइरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण घरमै बस्नुपर्ने भएपछि फुर्सदमा रहेका परिवारका सदस्यलाई खेतबारीको काम गर्न प्रेरित गर्ने उद्देश्यले पनि तरकारीको बीऊ वितरण गरिएको संघका अध्यक्ष नवराज पनेरुले जानकारी दिए । बीऊ आजदेखि वितरण गर्न थालिएको छ ।

संघले ‘जागौं युवा जागौं, खेतबारी बाँझो नराखौं’, भन्ने युवालक्षित नारासहित राष्ट्रिय उत्पादन तथा स्वाभिमान कार्यक्रम अन्तर्गत एकलाख रुपैयाँभन्दा बढीको विभिन्न आठ किसिमका तरकारीको बीऊ वितरण गर्न शुरु गरिएको संघका महासचिव पंकज शर्माले जानकारी दिए । भिण्डी, फर्सी, लौका, घिरौंला, बोडी, करेला, काँक्रा र लट्टेको बीऊ समावेश गरी प्याकेट बनाई वितरण गरिएको हो ।

संघको कार्यालय परिसरमा आइतबार अध्यक्ष पनेरु, विशिष्ट सदस्य अजय साहेवाला, पूर्व अध्यक्ष राजेन्द्रकुमार घिमिरेले संयुक्तरुपमा बीऊबिजनको प्याकेट वितरण गरेर कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

वितरित बीऊको सदुपयोग भए–नभएको संघले अनुगमन गर्नेछ । वितरित बीऊबाट उत्कृष्ट उत्पादन गर्ने किसानलाई पुरस्कृत गर्ने योजना रहेको संघका सदस्य रमेश श्रेष्ठले बताए ।

संघले यो कार्यक्रम नमूनाका रुपमा सञ्चालन गरेको हो । झापामा कृषिको प्रचुर संभावना छ तर युवापुस्ताको आकर्षण घट्दै जाँदा उत्पादन योग्य ठूलो क्षेत्रफल बाँझै रहेकोले कृषिवस्तु नै आयात गर्नुपर्ने अवस्थाको अन्त्यका लागि यो कार्यक्रम ल्याइएको अध्यक्ष पनेरुको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here