वीरगञ्ज । र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ ।
वीरगञ्ज–१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना संकलन गरी परीक्षणका लागि हेटौंडास्थित प्रादेशिक प्रयोगशालामा पठाइएको छ ।
उनलाई आइसोलेसनमा राख्ने तयारी गर्दागर्दै मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायले जानकारी दिए ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार उनलाई स्वास्थ्यमा समस्या देखिएपछि ०७६ चैत ५ गते चितवनको भरतपुर क्यान्सर अस्पतालमा लगिएको थियो । अस्पतालमा जाँचपछि ब्लड क्यान्सर भएको प्रमाणित गर्दै प्रारम्भिक उपचारपछि चैत ९ गते डिस्चार्ज गरिएको थियो । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेबाट लकडाउन गर्यो ।
लकडाउन सुरु भएको दुई दिनदेखि घरमै रहेको बेला स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि एडभान्स अस्पताल लगिएको थियो । प्रारम्भिक उपचारपछि एडभान्सले आईसीयुमा राख्नुपर्ने भन्दै नेशनल मेडिकल रिफर गरेको थियो । तर नेशनल मेडिकल कलेजले आईसीयु खाली नरहेको भन्दै विरामीको भर्ना नै नलिई फिर्ता पठाएको परिवारका सदस्यहरु बताउँछन् ।
त्यसपछि शनिबार राति १० बजेतिर उनलाई तराई हस्पिटल एण्ड रिसर्च सेन्टरमा भर्ना गरियो । अस्पतालले अन्य जाँचसँगै आरडीटी परीक्षण गर्दा शंकास्पद रिपोर्ट आएपछि नारायणी अस्पतालको टोलीले फेरि पनि र्यापिड टेस्ट गरेको थियो । त्यसक्रममा एन्टिबडी पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा आईसोलेसनमा राख्न लगिएको थियो । उनको सोही अस्पतालमा शनिबार मृत्यु भयो ।
उनको मृत्यु भएपछि परिवारका सबै सदस्यहरुलाई होम क्वारेन्टाइनमा बस्न सुरक्षा निकायले आग्रह गरिसकेको छ ।





