काठमाडौं । सरकारको सिफारिसमा सोमबार राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद् सम्बन्धी राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश फिर्ता लिन साझा पार्टीले माग गरेको छ ।
उक्त अध्यादेशबाट प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकवादको डरलाग्दो आकांक्षा प्रकट भएको साझा पार्टीले ठहर गरेको छ । संयोजक रवीन्द्र मिश्रले मंगलबार विज्ञप्ति जारी गरी झण्डै दुई तिहाइ जनमतसहित शासन गरेको दुई वर्षमा जनविश्वास गुमाएपछि सत्तामा कायम रहिरहन प्रधानमन्त्रीको निरंकुश र व्यक्तिवादी सोच हाबी भएको बताएका छन् ।
संसदमा बलियो जनमत हुँदाहुँदै संसदबाट नभई पार्टी फुट र जुटको घृणित राजनीति तथा संवैधानिक निकायमाथिको पूर्ण नियन्त्रणबाट शासन चलाउन खोज्नु नेपालको दशकौंको लोकतान्त्रिक संघर्षकै उपहास भएको साझा पार्टीले बताएको छ ।
सरकारको कदमले लोकतान्त्रिक पद्धतिको आत्मा मानिने शक्ति पृथकीकरणको मान्यतामाथिको नाङ्गो आक्रमण गरेको साझा पार्टीको ठहर छ ।





