कैलालीका कोरोना संक्रमित युवक निको, आजै डिस्चार्ज हुने


७ बैशाख २०७७, आईतवार १७:१८ मा प्रकाशित

कैलाली । धनगढीको सेती अस्पतालमा उपचाररत कोरोना संक्रमित युवक निको भएका छन् । उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरका २१ वर्षीय युवकको दोस्रो र तेस्रो पटक गरिएको कोरोना संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको थियो ।

पहिलो रिपोर्ट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका उनको दोस्रो र तेस्रो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्ने तयारी भइरहेको सेती प्रादेशिक अस्पतालमा प्रवक्ता डा. जगदीश जोशीले जानकारी दिए ।

चैत २२ गते परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएका उनको शनिबार नेगेटिभ रिपोर्ट आएको थियो । त्यसको २४ घण्टामा अर्को परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएपछि उनलाई अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको डा. जोशीले बताए ।

भारतबाट चैत ११ गते घर फर्किएका उनलाई कैलालीको प्रतापपुर क्वारेन्टाइनमा ११ दिन बसेपछि कोरोना पुष्टि भएको थियो । नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा उनी १३ गते देखि बसेका थिए ।

११ दिन क्वारेन्टाइनमा र १३ दिन आइसोलेसन बसेका उनी आइतबार नै घर फर्किने अस्पताल स्रोतले बताएको छ । नेपालमा हालसम्म ३१ जना कोरोना संक्रमित भेटिएका छन् । जसमध्ये हालसम्म तीन जना उपचारबाट निको भई घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here