सरकारद्वारा ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु


१ बैशाख २०७७, सोमबार १८:४२ मा प्रकाशित

काठमाडौं । सरकारले ५२ जिल्लामा कोभिड–१९ को परीक्षण शुरु गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले रियल टाइम पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) र र्‍यापिड डाइग्नोष्टिक टेष्ट गरी दुवै विधिबाट ५२ जिल्लामा परीक्षण गरिएको जानकारी दिए ।

अहिले पीसीआरबाट देशभरिमा ११ वटा ठाउँमा परीक्षण भइरहेको छ । उनले बाँकी २५ जिल्लामा चाँडै नै परीक्षण गरिने बताए । उनका अनुसार अहिले ती दुवै विधिबाट १० हजार ९८२ जनाको परीक्षण गरिएको छ ।

यसमध्ये पीसीआरबाट पाँच हजार ६९१ र र्‍यापिड डाइग्नोष्टिक टेष्टबाट ५ हजार २९१ जनाको परीक्षण गरिएको छ । पीसीआरबाट गरिएको परीक्षणमा काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ४ हजार ४३१ र उपत्यकाबाहिर १ हजार २५९ गरिएको छ । सोमबार मात्रै काठमाडौंमा ४११ तथा र बाहिर १०८ जनाको परीक्षण गरिएको छ ।

यसैगरी प्रवक्ता डा देवकोटाले पर्सामा हिजो कोभिड–१९ सङ्क्रमित आफन्त, नातेदार र नजीकका मानिसको निगरानी (कन्ट्याक ट्रेसिङ) गर्न थालिएको जानकारी दिए । पर्साको विभिन्न मस्जिदमा रहेका २८ जनाको कन्ट्याक ट्रेसिङ गरिएको छ ।

पर्साको छपकैया टोलमा रहेका ५९ जनाको र्‍यापिड किटबाट परीक्षण गरिएको र सबैमा सङ्क्रमण नभएको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्सामा १४ दिनभन्दा बढी क्वारेन्टाइनमा रहेका मानिसको र्‍यापिड किटबाट परीक्षण शुरु भएको उनले जानकारी दिए । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा कैलालीको लम्की नगरपालिकामा ६५ वर्षीया महिला र रौतहतमा १९ वर्षीय पुरुषमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ ।

दुवै सङ्क्रमितको अनुसन्धान र कन्ट्याक ट्रेसिङ गर्ने कार्य शुरु भइसकेको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए । महिलालाई सुदूर पश्चिम प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको छ भने रौतहटका पुरुषलाई पनि अस्पताल लैजाने प्रक्रिया रहेको छ ।

यसैगरी अहिलेसम्म सात हजार १७७ क्वारेन्टाइनमा बसेको छन् । वेबसाइट र मोबाइल एपमा आफैं परीक्षण गराएका १३ जना आज ‘रेड जोन’मा परेका छन् । अहिलेसम्म २१९ जना रेड जोनमा परेका छन् ।

अहिलेसम्म १०३ जना आइसोलेशनमा रहेका छन् । तीमध्ये काठमाडौंमा नौ जना र बाँकी ९४ जना बाहिर रहेका छन् । अहिलेसम्म कैलालीमा छ, बागलुङ्मा दुई, काठमाडौंमा दुई, पर्सामा तीन र रौतहटमा एकजना सङ्क्रमित फेला परेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here