काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले मुलुकमा देखिएका सबैखाले समस्याको समाधानका निम्ति राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्नेमा जोड दिएको छ ।
नयाँवर्ष २०७७ को उपलक्ष्यमा राजपाले सोमबार एक शुभकामना सन्देश जारी गर्दै सरकारको तर्फबाट अझै प्रभावकारी भूमिकाका निम्ति सबै प्रकारको समस्याबाट मुक्ति पाउन सबैलाई समेटेर राष्ट्रिय सहमतिका लागि छलफल अगाडि बढाउन आग्रह गरेको हो ।
‘कोभिड–१९’ को संक्रमण नियन्त्रणका लागि ‘लकडाउन’ घोषणा भएका अवस्थामा आमनेपाली जनसमुदायले आ–आफ्नो घरमै ‘सेल्फ क्वारेन्टाइन’मा बसी देखाएको धैर्यता र साहसको प्रशंसा गर्दै राजपाले आगामी दिनमा अझै परिस्थिति प्रतिकूल रहने सम्भावना देखिएकाले सजग र संयमित भइ लकडाउनको नियम पालना गर्न पनि अपील गरेको छ ।
साथै, राजपाले नववर्ष २०७७ को पावन अवसरमा देश तथा विदेशमा रहेका सबै नेपाली दाजु–भाइ तथा दिदी–बहिनीमा उत्तरोत्तर प्रगति तथा सुख, समृद्धि, सुस्वास्थ र दीर्घायुको मंगलमय शुभकामना व्यक्त गरेको छ ।
विश्वभरि फैलिएको कोभिड–१९ को महामारीबाट सबैले मुक्ति पाउन् भनी प्रार्थनासमेत गरिएको राजपा अध्यक्षमन्डलका संयोजक शरत्सिंह भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।





