विश्वमा फैलिएको कोरोना संक्रमण र नेपालको अवस्था


२९ चैत्र २०७६, शनिबार १५:१५ मा प्रकाशित

लक्ष्मी उप्रेती
झापा । गत डिसेम्बर २०१९ मा पहिलो पटक चीनको हुबेइ प्रान्तको वुहान शहरमा देखिएको नोवल कोरोना भाइरस कोभिड–१९ को कारण अहिले विश्व आतंकित छ । विश्वकै अर्थतन्त्र डामाडोल बनेको छ । २०१९ मा देखा परेको कोरोना भाइरस कोभिड–१९ ले यतिखेर विश्वव्यापी महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनले नोबल कोरोना भाइरसको औपचारिक नाम कोभिड १९ सार्वजनिक गरेको छ ।

विज्ञहरुका अनुसार यो एउटा कोरोना भाइरस रोग हो र जुन तिब्र श्वास लिने लक्षण सार्स–कोभ–२ को कारणले हुन्छ । डिसेम्बर २ मा पहिलो पटक चीनको वुहान शहरमा भाइरसको लक्षण देखिएको थियो भने यस भाइरसको सक्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो पटक मानिसको मृत्यु भयो । चीनको हुबई प्रान्तको वुहान शहरमा प्रथम पटक मानिसमा सरेको यो प्रकोप यो लेख तयार पार्दासम्म विभिन्न २ सय १० देशहरूमा फैलिएको छ । पछिल्लो पटक यमनमा एक जनामा कोरोना पुष्टि भएसँगै कोरोना सक्रमण फैलिएको देशको संख्या २ सय १० पुगेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वका २ सय १० देश र दुई वटा अन्तर्राष्ट्रिय पानी जहाजमा यो संक्रमण फैलिदा साढे १६ लाख भन्दा धेरै मानिसमा यसको संक्रमण देखिदा ३ लाख ७६ हजारभन्दा धेरै उपचारपछि निको समेत भएका छन् । विश्वमा १ लाख २ हजार भन्दा बढि मानिसले यसैका कारण अकालमा ज्यान गुमाउनु परेको छ । गएको २४ घण्टामा अमेरिकामा मात्रै २ हजार भन्दा धेरैको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमणकै कारण मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा साढे १८ हजारभन्दा धेरैको ज्यान गएको छ भने ५ लाख भन्दा धेरैमा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । इटाली, स्पेन, फ्रान्स, बेलायत हुँदै भारतलगायतका मुलुकमा मानिसहरुको मृत्यु भएको छ भने संक्रमितहरुको संख्यामा समेत वृद्धि भइरहेको छ । विश्वमा यसले आतंक मच्चयाई रहदा यसको नियन्त्रण र रोकथामका लागि नेपालले शुरुदेखि नै आफ्ना सबै संयन्त्रहरु परिचालन गरेर अघि बढ्यो ।

नेपालका तीनै तहका सरकारले प्राप्त स्रोत साधन र जनशक्ति परिचालन गरे । अहिले सम्म नेपालमा नोवल कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या नौ पुगेपनि पछिल्लो एकसतामा यसको संक्रमण शुन्य छ । नेपालमा संक्रमितहरुको संख्या हेर्ने हो भने सबैभन्दा बढी विदेशबाट नेपाल फर्किएकाहरु छन् ।

नेपालमा पहिलो पटक चीनको वुहानबाट फर्किएका एकजनामा कोभिड १९ को संक्रमण देखियो । एकसातासम्म यसको संक्रमण कसैलाई देखिएन् त्यसपछि फ्रान्सबाट कतार हुँदै नेपाल आएका अर्का एक नेपालीमा यो संक्रमण फेला पर्यो । अनि युएई, दुवई वेल्जियमबाट आएका थप चारजनामा यसको संक्रमण पुष्टि भयो ।

कैलालीमा एकजनामा मानिसबाट मानिसमा यसको संक्रमण फैलिएको थियो । हाल संक्रमितहरु धेरै विदेशबाट आएका छन् । पछिल्लो प्राप्त जानकारी अनुसार थप नया व्यक्तिमा कोभिड १९ को संक्रमण नदेखिएको र संक्रमितहरुको स्वास्थ्य अवस्था समेत सामान्य रहेको छ ।

नेपालमा यसका संक्रमितहरु कुल ९ जना मध्ये १ जना उपचारपछि निको भएर घर फर्किएका छन । काठमाण्डौमा दुई, बाग्लुङमा दुई, सेती अञ्चल अस्पतामा चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । कोरोनाकै कारण नेपालमा कसैको ज्यान त गएको छैन । यसलाई सुखद समाचार मान्नु पर्छ ।

नेपाल पनि कोरोना सक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणमा बाहिरबाट सक्रमित भएर आएकाहरु मात्र थिए । अब नेपालभित्रै एकले अर्कोलाई सार्ने क्रम सुरु भइसकेको छ जुन दोस्रो चरण हो । तेस्रो चरण भनेको रोग एकजना व्यक्तिबाट अर्को व्यक्तिमा मात्र नभइ सामाजिक रुपमा फैलिनु हो । त्यसपछि सक्रमितको संख्या एकैपटक बढ्न जान्छ, जुन निकै जोखिमपूर्ण अवस्था हुन्छ ।

यो लेख लेखिरहदासम्म नेपालमा ३ हजार ५ सय २५ व्यक्तिको कोरोना सक्रमण नमूना परीक्षण गरिएको छ । २४ घण्टामा ६ सय ३० वटा नमूना परीक्षण गरिएको तथा ८ सय बढी नमूना परीक्षणको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । चारजनामा कोरोना संक्रमण देखिएको कैलाली जिल्लामा परीक्षण शुरु भएयता ३ सय ३९ जनामा परीक्षण गरिएको छ र सवै रिपोट नेगेटिभ छन् । अहिले देशभरि ८ हजार ६ सय ६० जना क्वारेण्टिनमा रहेका छन् भने १ सय २५ जना आइसोलेसनमा छन् ।

नेपाल सरकारले देशभर ११ ठाउँबाट कोरोनाको परीक्षण सुरु गर्ने व्यवस्था मिलाएको छ । प्रदेश नम्बर १ को विराटनगरबाट पनि कोरोना भाइरसको नमुना परीक्षण सुरु गर्न थालिएको छ । विराटनगरको कोशी अस्पतालमा परीक्षण सुरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सक्रमणबाट जोगिन अरु केही गर्न नसकेको स्थितिमा नेपाल सरकारले पहिलो पटक गएको चैत ११ बाट एकसताका लागि ‘लकडाउन’ बन्दाबन्दी को घोषणा गर्यो । नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी कोभिड १९ को रोकथाम र निर्मुल गर्ने उद्येश्यले अत्यावश्यक बाहेक घरबाट बाहिर ननिस्कन चैत १८ गतेसम्म आदेश जारी गर्यो । त्यसलाई पुनः निरन्तरता दिदैं १८ गतेको मध्यरातबाट २५ गतेसम्म ‘लकडाउन’ को समयसीमा थपियो ।

मुलुकलाई कोरोनाको संक्रमणबाट जोगाउन सरकारले तेस्रो पटक घोषणा गरेको ‘लकडाउन’को अवधि २०७७ वैशाख ३ गते सकिँदैछ । तर, सरकारले वैशाख ३ गतेपछि ‘लकडाउन’को अवधि बढाउने या नबढाउने अन्योल छ । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरण गर्न सरकारले मुलुकभर ‘लकडाउन’ गरेपछि सबैले साथ सहयोग दिएर स्वतःस्फूतरुपमा पालना गरे ।

यसरी नै अब लामो समयसम्म ‘लकडाउन’ लम्बिदै जाने हो भने धेरैको बिहान बेलुकाको गर्जो कसरी टार्ने यो पनि समस्याका रुपमा अघि देखापर्छ । अतिविपन्न, निम्न आय भएका दैनिक मजदुरी गर्ने समुदायलाई अहिले पनि यस्तो समस्याले पिरोलिरहेको छ । त्यसतर्फपनि तीनै तहको सरकारको ध्यान जान जरुरी छ । अहिले संघीय, प्रदेश र स्थानीय वा तीनै तहको समन्वय अभावका कारण राहत वितरणमा धेरै समस्याहरु आइरहेका छन् ।

के ‘लकडाउन’ कोभिड–१९ नियन्त्रण गर्ने भरपर्दो उपाय नै हो त ? एकजना विज्ञका अनुसार लकडाउनले मानवको बीचमा भाइरसको संक्रमण फैल्न र रोक्न नियन्त्रण गर्छ । यो संकटकालीन अवस्था हो जसमा व्यक्तिलाई प्रकोप फैलिएको क्षेत्र बाहिर निस्किन बन्देज लगाइन्छ ।

सरकारले शायद यसलाई नै महत्वपूर्ण उपाय ठान्यो होला संक्रमण फैलिन नदिनका लागि, पछिल्लो तथ्याङ्क हेर्ने हो भने ‘लकडाउन’को बेला मानिसहरुको मृत्युदर वा संक्रमितहरुको संख्या समेत कम हुदै गएको अवस्था छ ।

‘लकडाउन’ र क्वारेन्टाईन सहित नेपाल सरकारले सेल्फ क्वारेन्टाईन, सामाजिक दूरीको समेत व्यवस्था गरेको छ । सेल्फ क्वारेन्टाईनको अर्थ घरभित्रै कसैसँग नजिक वा अन्तरक्रिया नगरी अलग्गिएर बस्नु हो । सामाजिक दूरीले व्यक्ति–व्यक्तिबीच निश्चित दूरी बनाएर बस्नु हो । बाहिरका आगन्तुक वा संक्रामक व्यक्ति निश्चित अवस्था, अवधि वा एक्लिएर बसेको परिस्थिति क्वारेन्टाइन हो । यसले पनि संक्रमण फैलिन नदिन निक्कै ठुलो भूमिका खेल्छ ।

विज्ञहरु भन्छन् कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ । मानिसहरूमा यसले श्वासप्रश्वास सम्बन्धी रोग निम्त्याउने गर्दछ जुन सामान्य ज्वरो देखी सार्स, मर्स तथा कोभिड १९ जस्ता प्राणघातक पनि हुन सक्छ । हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन ।

१ सय ४ फरेनहाइट डिग्रीभन्दा माथि ज्वरो आउनु, थकित महसुस गर्नु, सुख्खा खोकी लाग्नु, छिटो श्वास लिनु कोभिड–१९ को सामान्य लक्षणहरु हुन् । विशेष उपचार नै नगरीकन करिब ८० प्रतिशत बिरामी निको भएका छन् । तर वृद्ध व्यक्ति र पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह, हृदय रोगबाट ग्रसित बिरामीको अवस्था सघन हुने सम्भावना बढी हुने एक अध्ययनले देखाएको छ ।

जीवित जनावरहरूको धेरै सम्पर्कमा नबस्ने, खोक्दा हाच्छ्युँ गर्दा टाढा बस्ने या रुमालले मुख छोप्ने , व्यक्तिगत सरसफाइमा ध्यान दिने, साबुन पानीले राम्रोसँग हात धुने, रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, महत्वपूर्ण काम नपरेसम्म बाहिर ननिस्कने, पौष्टिक आहारहरुको सेवन गर्ने , वृद्धवृद्धा, बालबच्चा तथा रोगीहरुलाई विशेष ध्यान दिने , माछामासु राम्रोसँग पकाएर मात्र खाने, अञ्जान मान्छेसँग धेरै घुलमिल नगर्ने, हात मिलाउनुको सट्टा टाढैबाट नमस्कार गर्ने, हातले नाक, मुख, आंँखामा नछुने र यदि लक्षण देखिएमा अस्पतालमा सम्पर्क गर्ने, यति सतर्कता अपनाउन सकेमात्र पनि कोरोना भाइरसको सक्रमणबाट बच्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here