कोभिड–१९ को आशंकामा बुधबारसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षणः मन्त्रालय


२६ चैत्र २०७६, बुधबार १७:२८ मा प्रकाशित

काठमाण्डौं । कोरोना भाइरस (कोभिड १९) को आशंकामा अहिलेसम्म २ हजार ३ सय ६६ जनाको नमुना परीक्षण भएको छ ।

काठमाण्डौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा १ हजार ९ सय ६५ र उपत्यका बाहिर ४ सय एक जनाको नमुना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराएको हो ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै नमुना परीक्षण गरेकामध्ये ९ जनामा कोरोनाको पुष्टि भएको र ती मध्ये एक जना उपचार पछि निको भइसकेका जनाएको छ । ८ जनाको अहिले उपचार भइरहेको छ ।

अहिले १ सय ३४ जना आइसोलेशनमा उपचाररत रहेका स्वास्थ्य मन्त्तालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा १२ र उपत्यका बाहिर १ सय २२ जना आइसोलेशनमा उपचाररत छन् । यस्तै देशभरका क्वरेन्टईनमा अहिले ८ हजार ५ सय ८० जना जना रहेका पनि प्रवक्ता डाक्टर देवकोटाले बताए ।

यस्तै कार्यविधि बनाएर देशभरका सबै ठाउँमा कोरोना रोकथामका लागि काम भइरहेको जानकारी उनले जानकारी गराए । कोभिड १९ को रोकथामका लागि आवश्यक तयारी, पूर्व रोकथाकमा लागि अपनाउनुपर्ने उपाय, कोरोना सङ्क्रमितको उपचार तथा उनीहरुको निधन भएमा कसरी दाहसंस्कार गर्ने भन्ने बारे कार्यविधि बनाएको जानकारी दिए ।

सशस्त्र प्रहरी बलको असपतालमा बिरामीलाई राख्ने तयारी पूरा भएको पनि उनले जानकारी दिए । कोरोनाको बढी जोखिम रहेका कैलाली, कञ्चनपुर र बाग्लुङबाट १९८ जनाको नमुना संकलन गरिएको छ ।

उनीहरुको स्वाब र र्यापिड किटमार्फत नमुना संकलन गरी परीक्षणका लागि काठमाण्डौं ल्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच, लकडाउनमा पनि केही ठाउँमा भिडभाड र मेला भइरहेको गुनासो आएकाले संकटको यो बेला भिडभाड नगर्न र नगराउन मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले सम्बन्धित पालिकाहरुलाई भिडभाड नगर्न र नगराउन कडाईका साथ अनुगमन गर्न पनि आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here