काठमाण्डौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको ‘लकडाउन’को पालना गर्न र समाजिक दूरी कायम गर्न अपिल गर्नुभएको छ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको आदेशहरुको पालना गर्न र समाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गर्नुभएको हो ।
देउवाले सीमा पारी अलपत्र परेका नागरिकलाई उद्दार गरी क्वरेन्टाईनमा राख्न समेत सरकारलाई आग्रह गर्नुभएको छ ।
सरकारलाई पारदर्शी रुपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरेर अगाडि बढ्न समेत सरकारलाई अनुरोध गर्नुभएको छ । सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न सभापति देउवाले आग्रह गर्नुभएको छ ।
यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्ताहरुलाई उच्च सतर्कताका साथ प्रचार–प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन समेत आग्रह गर्नुभएको छ । राजनीतिक दल सुवेच्छुक संस्थाहरुलाई देहमा भित्रिएको संकटमा एकजुट भएर लाग्न समेत आग्रह गर्नुभयो । विदेशमा रहेका नेपाली नागरिकहरुलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्न समेत अपिल गर्नुभएको छ ।
सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरुको मृत्युप्रति सभापति देउवाले दुःख समेत व्यक्त गर्नुभएको छ । उहाँले मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभयो ।





