तेह्रथुम । तेह्रथुमको आठराई–७, थोक्लुङमा रहेको सामुदायिक वनमा आगलागी भएको छ ।
आगलागीबाट थोक्लुङको पिप्लेमा रहेको नरपति चौलागाईंको घर जलेर नष्ट भएको छ । घरमा अहिले स्थानीय टंकप्रसाद चौलागाईं बस्दै आएका थिए भने घरधनि नरपति भने तराईमा बसोबास गर्दै आएका छन् । क्षतिको यकिन विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय संक्रान्ति बजारका प्रहरी निरीक्षक शेशकराम थान्दारले जानकारी दिए ।
थोक्लुङमा रहेको लामाचौतारा सामुदायिक वन र रानि सरकारी वनमा मंगलबार बिहानदेखि आगलागी हुदाँ पिप्ले र कर्कले बस्तीका २० घरहरू आगलागीको उच्च जोखिममा रहेको बताइएको छ ।
आगलागी नियन्त्रणको लागि इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक थान्दार, सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प संक्रान्तिबजारका सशस्त्र प्रहरी निरीक्षक सन्जिव तिवारीको प्रहरी सहित स्थानीयहरूले प्रयास गरिरहेको वडा अध्यक्ष रोहित कन्दङवाले बताए ।





