काठमाडौं । सरकारले आउँदो वैशाख १ गते हुने भनिएको विभूषण सुशोभन समारोह कोरोना भाइरस संक्रमणको जोखिमका कारण स्थगित गरेको छ ।
राष्ट्रिय जीवनमा विशिष्ट योगदान पुर्याउने विभिन्न क्षेत्रका महानुभावहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १ गते विभूषण प्रदान गर्ने कार्यक्रम थियो । तर विश्वभरि फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट विषम परिस्थिति सिर्जना भएको भन्दै गृह मन्त्रालयले समारोह स्थगितको सूचना जारी गरेको छ ।
गृहमन्त्रालयका सचिव एवम् विभूषण समितिका सदस्यसचिव महेश्वर न्यौपानेका अनुसार सो कार्यक्रम पछि उपयुक्त समयमा गरिने छ । सरकारले संविधान दिवस (राष्ट्रिय दिवस) र गणतन्त्र दिवसको अवसरमा शीतलनिवासमा विशेष समारोह गरी राष्ट्रपतिबाट विभिन्न व्यक्तिहरुलाई विभूषण तथा पदक प्रदान गर्दछ ।
विभूषित हुने यस्तो सूचीमा दलका नेता, राष्ट्रसेवक कर्मचारी, खेलाडी, साहित्यकार र पत्रकारदेखि सामाजिक जीवनमा विशेष महत्व पुर्याएका भनिएका व्यक्तित्वहरु हुन्छन् ।
तर, यस्ता विभूषण र पदकहरु प्रभावशाली व्यक्तिहरुका नातेदार र राजनीतिक दलका कार्यकर्ताहरुलाई दिइँदा यसको गरिमामा आँच आएको भन्दै कतिपयले बहिस्कार समेत गर्दै आएका छन् ।





