झापा । नेपाल जेसीजले वर्ष २०२६ का लागि राष्ट्रिय जूनियर जेसीजको नयाँ नेतृत्व टोली चयन गरेको छ। “एकताको संकल्प, रूपान्तरणको यात्रा” अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित नेशनल जूनियर जेसीज कोअर्डिनेटरमा जु. जेसी. सन्दर्भ खनाल चयन भएका छन्। उनको नेतृत्वमा गठन गरिएको राष्ट्रिय टोलीमा सल्लाहकार सदस्यका रूपमा स्नेहा शर्मा र आयुषा अधिकारी मनोनित भएका छन् भने एकेडेमी राष्ट्रिय सल्लाहकारमा अस्मित गोसाई चयन भएका छन्।
यसैगरी क्षेत्रीय संरचनालाई सुदृढ र परिणाममुखी बनाउने लक्ष्यसहित क्षेत्र–क संयोजकमा सनम खतिवडा, क्षेत्र–ख संयोजकमा शोभा केसी, क्षेत्र–ग संयोजकमा श्रेया मानन्धर तथा क्षेत्र–घ संयोजकमा सिसिर सुवेदीलाई जिम्मेवारी प्रदान गरिएको छ। नेतृत्व विकास कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र उपलब्धिमूलक बनाउने उद्देश्यले एकेडेमी कोअर्डिनेटरमा सुरञ्जन न्यौपाने तथा प्रेसिडेन्ट मिट कोअर्डिनेटरमा स्वीकृति पौडेल मनोनित भएका छन्।
नेपाल जेसीजले नवगठित राष्ट्रिय जूनियर जेसीज टोलीले वर्ष २०२६ मा संगठन विस्तार, सदस्य सशक्तीकरण, गुणस्तरीय नेतृत्व उत्पादन तथा शाखा–क्षेत्र–राष्ट्रिय तहबीचको समन्वयलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ। युवा क्षमताको पहिचान, तालिममार्फत क्षमता अभिवृद्धि तथा अवसर सिर्जनालाई प्राथमिकतामा राख्दै जिम्मेवार र सक्षम नेतृत्व निर्माण गर्ने अभियानलाई यो टोलीले नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।






