धनुषा । नेपाली काँग्रेसका नेता तथा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार विमलेन्द्र निधीले आफ्नो क्षेत्रको विकासका लागि स्वास्थ्य, कृषि र खेलकुदलाई मुख्य प्राथमिकतामा राखेर योजनाहरू सार्वजनिक गर्नुभएको छ ।
चुनावी अभियानका क्रममा बोल्दै नेता निधीले जनकपुर उपमहानगरपालिका बाहेकका अन्य तीन वटा पालिकाहरूमा महिला तथा बालबालिकाका लागि विशेष स्वास्थ्य सेवा विस्तार गर्ने घोषणा गर्नुभयो । जनकपुरमा धेरै अस्पतालहरू खुलेका तर जनकपुर भन्दा दक्षिणका तीनवटा पालिकाहरूमा आफूले तीनवटा प्रसूति र तीनवटा बाल अस्पताल निर्माण गर्न चाहेको बताउनु भयो ।
मधेस प्रदेश कृषि प्रधान क्षेत्र भएपनि किसानले सधैं मलको अभाव झेल्नुपरेको उल्लेख गर्दै निधीले नेपालमै मल कारखाना खोल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार यसबाट किसानले समयमै मल पाउने मात्र नभई स्थानीय युवाहरूले ठूलो संख्यामा रोजगारी समेत प्राप्त गर्नेछन् ।
जनकपुरमा ‘राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रङ्गशाला’ निर्माणको प्रक्रिया अघि बढेको जानकारी दिँदै उहाँले यसलाई ‘स्पोट्र्स इकोनोमी’ (खेलकुद अर्थतन्त्र) सँग जोड्नुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको १०० करोड अनुदानलाई यसै रङ्गशालामा खर्च गर्नेगरी समन्वय भइरहेको र जग्गाको लालपूर्जा समेत बनिसकेको उहाँले बताउनु भयो ।
ऐतिहासिक धनुषाधामलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक पर्यटकीय स्थल बनाउने योजना पनि निधीले अघि सार्नुभएको छ । जानकी मन्दिर र अयोध्या धाम जस्तै धनुषाधामलाई विस्तार गरी अन्तर्राष्ट्रिय लगानीकर्ताहरू भित्र्याउने उहाँको लक्ष्य छ । यसले धार्मिक पर्यटन मात्र नभई आर्थिक गतिविधि बढाउने र रोजगारी सिर्जना गर्ने उहाँको विश्वास छ ।
जनकपुरमा जलन (बर्न) अस्पतालको अभाव रहेको महशुस गर्दै उहाँले एक सुविधासम्पन्न बर्न हस्पिटल निर्माण गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ । आफ्नो योजना र प्रणाली कार्यान्वयनका लागि आफू प्रतिवद्ध भएर आएको बताउँदै उहाँले मतदाताहरूलाई मतदान गर्न अपिल गर्नुभयो ।






