धनुषामा प्रेम सम्बन्धका कारण युवकको हत्याः प्रेमिकाका दाजुसहित तीन जना पक्राउ


१६ फाल्गुन २०८२, शनिबार ११:५६ मा प्रकाशित

धनुषा । धनुषामा एक युवकको बीभत्स हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी प्रेमिका र उनका परिवारका सदस्यसहित तीन जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्दै घटनाको विस्तृत विवरण सार्वजनिक गरेको हो । गत फागुन १४ गते बिहीवार अपरान्ह करिव ४ बजे औरही गाउँपालिका–६, चक्करस्थित भित्री सडक खण्डभन्दा ३०० मिटर पूर्व मसुरी खेतमा एक युवकको शव फेला परेको थियो ।

घाँटी रेटिएको अवस्थामा फेला परेको उक्त शवको पहिचान धनुषाकै हंसपुर नगरपालिका–९, बुदौल (रुदौली) निवासी १८ वर्षीय सुमितकुमार मण्डलको रूपमा भएको छ । उनी सगरमाथा माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत थिए ।


प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार मृतक सुमित र हंसपुर नगरपालिका–६, सोनिगामा बस्ने १७ वर्षीया काजल कुमारी मण्डलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । फागुन १३ गते साँझ काजलले घरमा कोही नभएको मौका छोपी सुमितलाई भेट्न बोलाएकी थिइन् । सोही क्रममा काजलका परिवारका सदस्यहरूले उनीहरूलाई आपत्तिजनक अवस्थामा फेला पारेपछि विवाद शुरु भएको थियो । 

धनुषामा पछिल्लो समय भएका ६ वटा हत्याका घटनामध्ये ४ वटाको सफल अनुसन्धान गरी संलग्नहरूलाई कानूनी दायरामा ल्याइसकिएको र बाँकी दुईवटा घटनाको पनि सुक्ष्म अनुसन्धान भइरहेको एसपी कुँवरले जानकारी दिनुभयो ।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रुग्मबहादुर कुँवरका अनुसार, सुमितलाई नियन्त्रणमा लिएपछि काजलका दाजु २० वर्षीय दीपेशकुमार मण्डल र काकाका छोरा (दाजु) २९ वर्षीय परमेश्वर मण्डलले भैँसी बाँध्ने डोरीले सुमितको दुवै हात पछाडि बाँधेका थिए । त्यसपछि उनलाई आफ्नै मोटरसाइकलमा राखेर घरदेखि करिब डेढ किलोमिटर टाढा मानव बस्ती नभएको मसुरी खेतमा लगिएको थियो । त्यहाँ खुकुरी (दाउ) प्रहार गरी घाँटी रेटेर उनको हत्या गरिएको प्रहरीले जनाएको छ ।


हत्यापछि अभियुक्तहरूले प्रमाण लुकाउन सुमितको मोटरसाइकल विदेह नगरपालिका–१ स्थित एक साथीको घरमा लुकाएर राखेका थिए । प्रहरीले उक्त मोटरसाइकल, हत्यामा प्रयोग गरिएको धारिलो हतियार (खुकुरी) र हात बाँध्न प्रयोग गरिएको डोरी समेत बरामद गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी प्रेमिका काजल कुमारी मण्डल, उनका दाजु दीपेशकुमार मण्डल र दाजु परमेश्वर मण्डल रहेका छन् । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here