एमसिसीको विरोधमा उत्रिएका तीनजना भोजपुरबाट पक्राउ


३ माघ २०७६, शुक्रबार १२:०० मा प्रकाशित

भोजपुर । अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।

एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले गिरफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति घरमै सुतिरहेको अवस्थामा पक्राउ गरेको हो ।

स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए । तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए । स्थानीय सञ्चारकर्मी राजन सामपाङका अनुसार राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए ।

उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन् । आन्दोलनमा उत्रिएकाले प्रहरी प्रसाशनले ज्यादति गरेको प्रतिक्रिया दिएका छन् । शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको गुनासो उनीहरुले गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here