पाकिस्तान नियन्त्रित काश्मीरमा ६२ जनाको ज्यान गयाे, २८ बेपत्ता


१ माघ २०७६, बुधबार १६:२६ मा प्रकाशित

पाकिस्तान । पाकिस्तान नियन्त्रित काश्मीर क्षेत्रमा वर्षा र हिमपातसँगै भएका घटनामा परेर कम्तीमा ६२ जनाको ज्यान गएको छ ।

घटनाका कारण अरु ५३ जना घाइते भएका र २८ जना हराइरहेका अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार कुल ५८ ओटा घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् भने अरु ८२ ओटा घरमा पनि आंशिक क्षति भएको छ । प्रकोप व्यवस्थापन कार्यालयका अधिकारीहरुले घटनास्थलबाट थप विवरणहरु आउने क्रम जारी रहेको र खोजी तथा उद्धार कार्य पनि भइरहेको जनाएका छन् ।

देशको निलम उपत्यकामा सबैभन्दा धेरै हिमपात र वर्षाको असर परेको छ । त्यस क्षेत्रमा मात्रै ५९ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार निलम उपत्यकामा मात्रै ५३ जना घाइते भएका छन् भने ५० भन्दा बढी घरहरु क्षतिग्रस्त भएका छन् ।

हराइरहेका २८ जनाको पनि खोजी भइरहेको जनाइएको प्रकोप व्यवस्थापन कार्यालयका अहमद राजा क्वाद्रीले जानकारी दिए । उनले ज्यान गुमाउनेहरुको संख्या अझ बढ्न सक्ने पनि बताए । काश्मीरमा कैयौँ हिउँपहिरो गएका विवरणहरू आएको उनको भनाइ छ । वर्षा र हिमपात भएको क्षेत्रका प्रमुख सडक र सञ्चार पूर्वाधार अवरुद्ध भएका छन् । कैयौँ मानिस विभिन्न ठाउँहरुमा फसेको जनाइएको छ ।

उक्त क्षेत्रमा विगतमा पनि बेला बेलामा प्राकृतिक विपद् आइपरिरहने भएपनि यसपटकको विपद् निकै घातक भएको छ । खराब मौसमले पाकिस्तानका अन्य भागमा दर्जनौँको ज्यान गएको र छिमेकी मुलुक भारत, अफगानिस्तान लगायतका देशहरुमा पनि प्रभाव परेको समाचारमा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here