काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनेर तोकिएको प्रतिनिधिसभा बैठक पुनः स्थगित भएको छ ।
यसअघि ११ दिन सारेर आइतबार बस्ने गरी तय भएको प्रतिनिधिसभा बैठक अब माघ ६ गते दिनको १ बजे बस्ने गरी स्थगित भएको हो । संघीय संसद सचिवालयले सूचना टाँस गरी प्रतिनिधिसभाको अर्को बैठक माघ ६ गते बस्ने गरी आइतबार तय भएको बैठक स्थगित भएको जानकारी दिएको छ ।
सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै सहमति जुट्न नसक्दा संघीय संसदको हिउँदे अधिवेशन शुरु भएयता प्रतिनिधिसभाको एउटा बाहेक सबै बैठक सूचना टाँस गरेर स्थगित हुँदै आएका छन् । यसअघि पुस १६ गते बस्ने भनिएको बैठक अघिल्लो दिन (पुस १५ गते) नै सूचना टाँस गरी पुस २७ गते बस्ने गरी स्थगित भएको थियो ।
कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।
प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।





