विराटनगर । विराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ ।
मोरङको बेलबारी–४ लामपानेकी ४४ बर्षीया अलन कुमारी माझीको दाहिने स्तनमा भएको क्यान्सरको सफल शल्यक्रिया गरिएको हो । क्यान्सरको संक्रमण फैलिएको स्तन र काँखी मुनीको गाँठोसमेत शल्यक्रियाको माध्यमबाट सफलतापूर्वक निकालिएको नोबेल शिक्षण अस्पतालका शल्यचिकित्सक डा. ओम बिक्रम शाहले जानकारी दिए ।
माझीको स्तनमा करिब एक बर्ष अघि सानो घाउ निस्किएको थियो । त्यो बढ्दै गएपछि परिक्षण गराउने क्रममा क्यान्सर भएको पत्ता लाग्यो । घाउको उपचारका लागि नोबेल आईपुगेका उनीहरु क्यान्सर ‘थ्री स्टेज’ मा पुगेको थाहा पाएपछि आत्तिएका थिए । तर, अन्तत शल्यक्रिया सफल भएपछि बिरामी र बिरामीका आफन्त हर्षित छन् ।
नोबेलका शल्यचिकित्सक डा. शाह नेतृत्वको चिकित्सकहरुको टोलीले शल्यक्रिया गरेको हो । शल्यक्रिया पश्चात अब बिरामीको किमो थेरापी र रेडियो थेरापी गराउनु पर्ने डा. शाहले बताए । उनका अनुसार अप्रेशन गराउँन ढिलाई भएको भए क्यान्सरको संक्रमण शरिरका अन्य भागमा समेत फैलिएर बिरामीको ज्यान नै जान सक्थ्यो ।
तर, अप्रेशन पश्चात अब सोहि क्यान्सरकै कारण बिरामीको मृत्यु हुँने जोखिम टरेको डा।शाहको भनाई छ । नोबेलमा यसअघि पेनक्रियाज क्यान्सरको पनि सफल शल्यक्रिया गरिएको थियो । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणका कारण नोबेलमा जटिल तथा दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गरिदै आएको छ ।





