विद्युतीय तारवार जडान कार्य सुरु भएसँगै झापामा जंगली हात्तीको आतंक


२३ पुष २०७६, बुधबार १९:१२ मा प्रकाशित

झापा । झापाको दक्षिणी क्षेत्रका वन जंगलमा हात्ती नियन्त्रणका लागि सौर्य विद्युतीय तारवार जडान कार्य सुरु भएसँगै जंगली हात्तीले सदरमुकाम भद्रपुरमा आतंक मचाउन थालेका छन् ।

स्थानीयले अन्नबाली घर भित्राएसँगै आहारको खोजीमा रात परेपछि निस्किने गरेको जंगली हात्तीले भद्रपुर क्षेत्रमा केहि दिनदेखि उत्पात मचाउँदै आएका छन् । जंगली हात्तीको त्रासले स्थानीय रातभर जाग्रम बस्न समेत बाध्य भएका छन् । यसैक्रममा गएराती तीन वटा जंगली हात्तीले भद्रपुरको वडा नम्बर ५, ७, ८ र ९ मा आतंक मचाउँदै स्थानीयको घर भत्काउँदै धान र चामल खाइ दिएका छन् ।

हात्तीले एकै रात ६ वटा घरमा क्षति पुर्याएको छ । हात्तीले भद्रपुर ५ घोडामारा स्थित घिमिरे चिया बगान नजिकै बस्ने भीमबहादुर मगर र हेमा दासको टिनले बनाएको छाप्रो भत्काउँदै चामल खाइदिएका छन् । त्यस्तै भद्रपुर ७ स्थित बबलु किस्कु र भवेश राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन् । त्यसैगरी भद्रपुर ८ स्थित किरात कोलोनीमा वडा अध्यक्ष गौरव सुब्बाको घरमा भण्डारण गरि राखिएको धान खाँदै गणेश लिम्बुको घरको कम्पाउड वाल भत्काइ दिएका छन्, भने पानलाल राजवंशीको घर भत्काउँदै धान खाइ दिएका छन् । राती साढे १२ बजे निस्किएको हात्तीले विहानसम्म आतंक मचाएका थिए । हात्तीले मध्यरातमा घर भत्काउँन थालेपछि सुतिरहेका छोराछोरीको ज्यान जोगाउनै समस्या परेको स्थानीय बिना मगरले बताइन् ।

यता हात्तीले घर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी उप शाखा भद्रपुरले वडा ५ का दुई घरपरिवारलाई एक÷एक थान कम्बल र त्रिपाल वितरण गरेको छ । उपशाखाका सभापति गोपाल गिरी, दिप लिम्बु, ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले सो सामग्री वितरण गरेका थिए, भने ५ नम्बर वडा कार्यालयले एक एक बण्डल टिना राहत स्वरुप प्रदान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here