काठमाडौं । नेपालको कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न थप १ जना पक्राउ परेका छन् ।
नाइजेरियन तथा भारतीय नागरिकसँग मिलेर नेपालको कृषि विकाससहित विभिन्न बैंकहरु ह्याक गरेर १ करोड रुपैयाँ लुटेका दीपक नेपाल पक्राउ परेको जनाइएको छ । मोरङको रङ्गेली घर भएका दीपक विगत केही समयदेखि भारतमा बस्दै आएका थिए । उनले नेपालको कृषि बिकास बैंक ह्याक गरी १ करोड रुपैयाँजति लुटपाट गरेको जनाइएको छ ।
लामो समयदेखि खोजी सूचीमा रहेका दीपकलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शहकुल थापाका अनुसार दीपकसहितका व्यक्तिको समूहले नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ ह्याक गर्ने योजना बनाएका थिए ।
महाशाखाको टोलीले दीपकसहितको समूहका सदस्यहरुलाई यसअघि नै पक्राउ गरिसकेका छ । प्रहरीले गत असोज पहिलो हप्तामा कृषि विकास बैंक ह्याकिङ गर्ने १२ जनालाई पक्राउ गरेको थियो । यस्तै, गत मंसिर २५ गते पनि प्रहरीले ३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।





