सभामुखको विषयमा सहमति नजुट्दा प्रतिनिधिसभा बैठक ११ दिनका लागि स्थगित


१५ पुष २०७६, मंगलवार १६:४१ मा प्रकाशित

काठमाडौं । संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ ।

सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच मंगलबार करिब २ घण्टासम्म छलफल चलेको थियो । तर, सभामुखको विषयमा दुई नेताबीच सहमति जुट्न नसक्दा बुधबार (पुस १६ गते) बस्ने भनिएको बैठक सूचना टाँस गरी ११ दिनका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका अनुसार प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते (आइतबार) दिउँसो १ बजेका लागि बोलाइएको छ । यसअघि पनि पुस ११ गते बस्ने भनिएको प्रतिनिधिसभा बैठक १६ गतेका लागि सारिएको थियो ।कृष्णबहादुर महरा जबरजस्ती करणी उद्योग (बलात्कार) प्रयासको अभियोगमा पुर्पक्षका लागि जेल चलाउन भएपछि सभामुख पद खाली भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ४ गतेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन आह्वान गरेकी थिइन् ।प्रतिनिधिसभा बैठक पुस ४ गते बसेपनि त्यसपछि निर्धारण गरिएको बैठक सूचना टाँस गरी स्थगित हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here