काठमाडौं । नेकपा स्थायी कमिटि बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि टिप्पणी गर्नेक्रम जारी छ ।
आइतबारदेखि सुरु बैठकको दोस्रो दिन सोमबार १२ जनाले टिप्पणी गरेकोमा मंगलबार मातृका यादव, सुरेन्द्र पाण्डे लगायतले धारणा राखेका छन् । ओली र दाहालले आइतबारको बैठकमा पार्टी र सरकारको कामकारवाही, अवस्था, अन्तराष्ट्रिय परिस्थिति र आगामी कार्यदिशा समेटेर १६ पृष्ठ लामो प्रतिवेदन पेश गरेका थिए ।
धारणा राख्नेक्रममा अधिकांशले सरकारको कामकारवाही जनअपेक्षित नरहेको, पार्टी संगठन बलियो हुन नसकेको, माथिल्लो देखि तल्लो तहमा न्याय हुने गरी विधान सशोधन गर्नु पर्ने, नेपालको सार्वभोमिकता र भौगोलिक अखण्डतालाई ध्यान दिँदै अन्तराष्ट्रिय सम्झौता गर्नु पर्ने र पार्टीको नेतृत्व तहमा महिला सहभागिता र नेतृत्व सुनिश्चित गर्नु पर्ने लगायत माग राखेका छन् ।
प्रतिवेदनमाथि टिप्पणी गर्न र सुझाव दिन २० मिनेट छुट्याएको छ । सबै सदस्यहरुले आफ्नो टिप्पणी र सुझाव दिनु पर्ने भएपछि बैठक लम्बिने देखिएको छ ।





