झापा । अवैधरुपमा नेपाल ल्याउँदै गर्दा तीनलाख बढी रुपैयाँ मुल्यको डेढ क्निन्टल ‘फ्रोजन फिस’ काँकरभिट्टा प्रहरीले पूर्वीनाकाबाट पक्राउ गरेको छ ।
तीनवटा काटुनमा प्याक गरेर भरियामार्फत नेपाल ल्याएको खबर गोप्यरुपमा प्रहरीले पाएपछि मेचीनगर—६ को तुर्कैनी खेलमैदान परिसरबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले सोमबार राति साढे १० बजे ३ लाख ७५ हजार रुपैयाँ मुल्य बराबरको मासु पक्राउ गरेको हो ।
एक/एक केजीको रोल बनाएर प्लाष्टिकमा प्याक गरेर काटनमा वरफसहित ल्याईएको त्यो मासु नेपाल सरकारले आयातमा प्रतिबन्ध लगाएको छ । यस्तो मासु भारत तथा बंगलादेशबाट आयात हुने र काठमाण्डौंका फाइव स्टार थ्री स्टार होटलदेख अन्य होटलमा समेत पुग्ने पशु चिकित्सकहरुको भनाई छ ।
पक्राउ गरिएको सबै मासु पशु क्वारेन्टाईन कार्यालय काँकरभिट्टामा आवश्यक कारवाहीकालागि पठाईएको प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्कीले जानकारी दिनुभयो । पशु क्वारेन्टाईन कार्यालयले त्यसलाई खाल्डोमा हालेर नष्ट गर्ने जनाएको छ ।





