प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले लिइन् पद तथा गोपनियताको शपथ


१ पुष २०७६, मंगलवार १३:४६ मा प्रकाशित

काठमाडौं । कास्की क्षेत्र नं‍. २ को उपनिर्वाचनबाट निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको शपथ लिएकी छन् ।

उनलाई उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सिंहदरबारस्थित संसद सचिवालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । १४ मंसिरको उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराई कास्की क्षेत्रनम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थिइन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका खेमराज पौडेललाई झण्डै साढे आठ हजार मत अन्तरले हराएकी थिइन् । भट्टराईले २४ हजार ३ सय ९५ मत पाउँदा पौडेलले १५ हजार ९८६ मत पाएका थिए । तत्कालीन प्रतिनिधिसभा सदस्य एवम् पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त भएको कास्की २ मा नेकपाले रवीन्द्रकै पत्नी विद्यालाई उम्मेदवार बनाएको थियो ।

मंसिर १४ मा भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित नेकपाकी सांसद विद्या भट्टराईलाई सभामुख नभएको बेला कसले शपथ ग्रहण गराउने भन्‍ने विवाद भइरहेको बेला उपसभामुखले नै पहिलो पटक शपथ खुवाएकी हुन् । संसदको शपथबारे नेपालको संविधानको धारा ८८ मा स्पष्ट उल्लेख छ । ‘संघीय संसदको प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि संघीय कानुनबमोजिम शपथ लिनुपर्ने छ,’ धारा ८८ मा उल्लेख छ । संसदका सदस्यलाई सभामुखले शपथग्रहण गराउने व्‍यवस्था छ । तर, संविधानको धारा ९१ ९४० मा रहेको सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता उपसभामुखले गर्ने व्यवस्थालाई टेकेर शपथ खुवाइएको हो ।

गत मंसिर १४ मा देशका ५२ ठाउँमा उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराईबाहेक अन्य ठाउँबाट निर्वाचित सबैले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन् । नेपालको संविधानमा संघीय संसदका सदस्यले सदनमा त्यससम्बन्धी कुनै पनि समितिको औपचारिक बैठकमा भाग लिन शपथग्रहण अनिवार्य हुनुपर्ने उल्लेख छ । आगामी पुस ४ गतेदेखि प्रतिनिधिसभा संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here