अर्घाखाँची । अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परी १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ ।
नेपालमा सडक दुर्घटनापछि कमै मात्र छानविन समिति बन्ने र समिति बने पनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिन अघि मंसिर ११ गते अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गति भएको छानविन समितिले निस्कर्ष निकालेको छ । अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देही जाँदै गरेको लु २ ख २१४८ नम्वरको यात्रुबाहक बस सन्धिखर्क नगरपालिका ६ नरपानी नजिकै सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो । दुर्घटनालगत्तै जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा नौ सदस्यीय छानविन टोली निर्माण भएको थियो ।
छानविन समितिलाई १५ दिन भित्रमा प्रतिवेदन पेश गर्ने गरी दिएको कार्यादेशअनुसार प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई प्रतिवेदन बुझाइएको हो । सालझण्डी सडकका इन्जिनियर तथा छानविन समिति सदस्य सुधिरकुमार झाले दुर्घटना स्थलको अवलोकनपछि सिंगल लेनको सडक अनुसारको मापदण्डमा कुनै कमि नभएको सडकका कारण दुर्घटना नभएको भनी लिखित प्रतिवेदन दिए । प्रहरी हवल्दार रितन राकस मगरको मेकानिकल चेकजाँचको प्रतिवेदनले पनि प्राविधिक कारणले बस दुर्घटना नभएको देखाएको छ । उक्त दुर्घटनास्थलको भौगोलिक अवस्था सडकको छेउदेखि भिरालो (भिरपाखो) रहेकाले बस दुर्घटना भई क्षत बिच्छेद अवस्थामा रहे पनि टायर पट्टाको भाग ठिक दुरुस्त रहनुले मेकानिकल हिसावले बस दुर्घटना नभएको प्रतिवेदनमा जनाइएको छ ।
उपचारमा रहेका अधिकांश घाइतेलाई लिखित रुपमा सोधिएको प्रश्नको उत्तरमा मोडमा बस तीव्र गति रहेकाले स्टेरिड मोड्न नसक्दा सिधैँ भिरबाट गाडी खसेको बताएका थिए । ‘मैले एक्कासि अगाडि हेर्दा गाडी चालक तर्फको साइडबाट बाहिर गई सकेको देखे । त्यसपछि गाडी भर्लाङ मार्दा म बाटोदेखि तल जंगलमा खसेको रहेछु । घाइते अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ तल्लाटोला बस्ने (हाल चौराहा अस्पताल बुटवलमा उपचारमा रहेका) ४२ वर्षीय विष्णुबहादुर अधिकारी भने । भैरहवा मेडिकल कलेजमा उपचारार्थ अर्घाखाँची पाणिनी गाउँपालिका ८ बस्ने ४४ वर्षीय विष्णु बिकले त्यो दिनलाई सम्झँदै तर्सिदै भने, ‘घुम्तिमा आएपछि बस रोकियो । बसमा सवार यात्रु र बस चालकले चिया नास्ता खाएका थिए । त्यसपछि बसमा सबै बसे । चालकले गाडी चलाएर हिडे । नरपानी प्रहरी कार्यालय आउनु भन्दा २ किलोमिटर अगाडि (पहिला नै) तीव्र गतिका कारण देव्रे साइडको नालीतिर बस गयो । पुनः दायाँ साइड काट्दा बस रोक्न नसेन । अनि बस सिधै भिरबाट खस्यो।’
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल चेकजाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाई, घुम्तिका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका नरपानीका प्रहरी चौकी इन्चार्जको बयान, उद्धारकर्ताको भनाइ, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेका कागजात, घतटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण, फोटोग्राफी र घाइतेका बयान कागजले समेत तीव्र गतिका कारण बस दुर्घटना भएको देखाएको छ ।
सो रुटमा चल्ने अरू सवारी चालकले समेत सजिलो बाटोमा कसरी दुर्घटना भयो भनी दाबी समेत गरेको छानविन समितिका संयोजक बेल्वासेले बताए । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रतिवेदनलाई पुन सर्वपक्षीय बैठक बोलाइ जानकारी गराउने बताए । साथै सडक दुर्घटना न्यूनीकरणका लागि पहल गर्ने पनि बताए । उनले यो रूटमा चल्ने गाडीको गति कति हुनुपर्ने, कति समयमा गन्तव्यमा पुग्ने विषयमा छलफल गरी मापदण्डसहित समय अवधि तोक्ने बताए । चालकलाई निकै चनाखो, सचेत भई गाडी गुडाउन समेत प्रजिअ पौडेलले सुझाव दिएका छन् ।





