सन्दर्भः महिला हिंसा विरुद्धको अन्तराष्ट्रिय अभियान: शिक्षित परिवारका महिला हिंसाको उच्च शिकारमा


२४ मंसिर २०७६, मंगलवार १०:४१ मा प्रकाशित

राधिका आचार्य
झापा । महिला हिंसाको सवालमा प्रश्न उठाउने एक सामाजिक अभियान्ता र केहि अन्य महिलाहरु गफ गर्दै बसिरहेका थिए त्यहाँ मेरो पनि उपस्थिती थियो । यतिकैमा महिला हिंसाको बारेमा बोल्ने त्यस सामाजिक अभियान्ताले भनिन् आज घरामा एकजना महिला आउनुभएको थियो यहाँलाई बुढाले धेरै हेप्छ रे, सधैँ जसो रक्सी खाएर आएर कुट्ने झगडा गर्ने गर्छ रे ती महिला एक शिक्षित परिवारको रहिछिन् त्यसैले कसैलाई भन्न समेत सक्दिनन् रे अनि म कहाँ आएकी रैछिन् केहि सहयोग हुन्छ कि भनेर…..।

यस्तै धेरै बेरको गफगाफ पछि उहाँले फेरी जोड्नुुभयो मैले ति महिला गइुकेपछि यि सबै कुरा मेरो बुढालाई सुनाएको उहाँले ‘अर्काको घरको झगडा तलाई के चासो भनेर मलाई नै गालि गर्नुभयो ।’ यति सुनेपछि म अचम्ममा परे, म सोच्न बाध्य भए यसलाई महिला हिंसा भन्ने कि नभन्ने ? महिला माथि हुने हिंसाका विरुद्धमा उठाइने आवाजलाई दबाइन्छ भने त्यो भन्दा ठुलो हिंसा अरु केहि हुन सक्छ र ?

यो त एक उदाहरण मात्र हो हाम्रो समाजको । हाम्रो समाजमा दिनहुँजस्तो शिक्षितदेखी सर्वहारा सबै वर्गका महिलाहरु हिंसाको सिकार बनिरहेका छन् । महिला माथि हुने प्रायजसो हिंसाका घटनाहरुलाई यसै दबाउने गर्छन् त्यसमा पनि खासगरेर शिक्षित महिला माथि हुने हिंसालाई उनीहरुले अझ दबाउने गरेको पाइन्छ किनकि उनिहरुलाई इज्यत, मानसम्मान र समाजको चिन्ता हुन्छ ।

जो व्यक्ति महिला हिंसाको बारेमा कुरा प्रश्न उठाउँछ उ स्वयम् नै महिला हिंसाको सिकार बनिरहेका छन् भने स्पष्ट भन्न सकिन्छ हाम्रो समाजमा महिला हिंसाको अवस्था कतिसम्म दयनिय छ भनेर ! महिला हिंसा एक अन्यन्तै जटिल र हाम्रो समाजमा जरो गाडेर बसेको एक बिषय हो । महिलामाथि हुने हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुर्व्यवहारलाई बुझाउँछ । यस्ता हिंसा महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गर्छन् । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । खास गरी महिलाहरुको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरुलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ ।

परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ । पछिल्लो समय सामाजिक सञ्जालबाट पनि महिलाहरुलाई मानशिक हिंसा हुने क्रम बढ्दो छ । यसरी सामाजिक सञ्जालबाट हुने मानसिक हिंसालाई न त उनीहरुले प्रहरीमा खुलेर उजुरी नै गर्न सक्ने अवस्था छ न त कसैबाट सहयोग माग्न सक्ने अवस्था छ । त्यसैले यस्ता हिंसा उनीहरु चुपचाप सहेर बस्न बाध्य छन् ।

महिलाहरु शिक्षित नभएका कारण र अर्थतन्त्रमा पहुँच कमजोर हुने गरेका कारण महिला हिंसा बढि हुन्छ भनेर अधिकारकर्मीहरुले भन्ने गरेका छन् । तर हाम्रो समाजमा हुने प्रायजसो महिला हिंसाका घट्ना शिक्षित परिवारमा नै व्यप्त देखिन्छ । शिक्षित परिवार भएकै कारण उनीहरुले हिंसाको घटनाको बारेमा खुलेर कसैलाई पनि भन्न सक्दैनन् । जब घट्नाले ठुलो मोड लिन्छ, शारिरीक, मानसिक रुप हुँदै जब आत्माहत्या रोज्नुपर्ने बाटोेमा पुग्छन् तब मात्र घटनाको जड बाहिर आउँछ । महिलाहरु शिक्षित र अर्थतन्त्रमा राम्रो पहुँच हुँदा हुँदै पनि हाम्रो समाजका कतिपय महिलाहरु हिंसामा पर्ने गरेका छन् । महिलालाई शिक्षित र अर्थतन्त्रमा मात्र नभई आफ्नो हक अधिकारको लागि सर्वप्रथम लड्न सक्ने वातावरण बनाउन जरुरी छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेसँगै हरेक वर्षको २५ नोभेम्वर देखि १० डिसेम्वरसम्म १६ दिन लैङ्गिक हिंसाका विरुद्ध विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने गरिन्छ । नेपालमा भने २०५४ सालदेखि मात्रै लैंगिक हिंसाविरुद्धको विभिन्न कार्यक्रम गरी मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here