इरान । इरानमा पछिल्लो समय भइरहेको प्रदर्शनका क्रममा अहिलेसम्म सात हजार जना प्रदर्शनकारी पक्राउ परेको पाइएको छ ।
संयुक्त राष्ट्रसंघले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार पक्राउ परेका मध्ये अधिकांश केही समयमै रिहा पनि भएका थिए । राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी कार्यालयले जारी गरेको वक्तव्यमा आधिकारीक तथा घटनालाई पुष्टि गरेका भिडियोमा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले पिट्ने, लखेट्ने, गोली प्रहार गर्ने, हत्याको प्रयास गर्नेजस्ता कृयाकलाप भएको देखिएको छ ।
प्रदर्शनका क्रममा अहिलेसम्म २ सय ८ जनाको मृत्यु भएको एम्नेष्टी इन्टरनेश्लले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । भिडियोमा सुरक्षाकर्मीहरु धेरै ठाउँमा प्रदर्शनकारीविरुद्ध जाइलागेको देखिएको मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय उच्च आयुक्त मिचेल बाचेलेटले बताए । प्रदर्शनकारीहरु भागेर टाढा टाढा जादाँ पनि सुरक्षाकर्मीहरुले पछाडिबाट गोली प्रहार गरेको देखिएको उनको भनाइ छ ।





